युक्रेनमा जारी युद्धका बाबजुद रुससँग संवादको ढोका खुला रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलिभनले रुससँग संवादको सम्भावना र मार्ग खुला रहेको पुष्टि गरेका हुन् ।
न्यूयोर्कमा भएको कार्यक्रममा सुरक्षा सल्लाहकार सलिभानले ‘रुससँग संवाद जारी राख्ने’ कुरा अमेरिकाको ‘चासो’मा रहेको उल्लेख गरेका हुन् । तर अधिकारीहरु ‘कोसँग सम्पर्क वा संवाद गरिरहेका छौँ भन्नेमा स्पष्ट’ रहेको उनले बताए ।
युक्रेनमा परमाणु हतियारको प्रयोग रोक्ने प्रयासका सलिभनले रुससँगको वार्ताको नेतृत्व गरिरहेको खबर आएका थिए । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सो खबर अस्वीकार नगरेको अवस्थामा सलिभनको टिप्पणी आएको हो ।
द वाल स्ट्रित जर्नलले सलिभनले रुसी समकक्षी निकोलाइ पात्रुशेभसँग गोप्य वार्ता गरेको खबर छापेको थियो । उनको यो वार्ता पछिल्ला केही महिनादेखि जारी रहेको उल्लेख छ ।