बैशाख ७, २०७८ मंगलबार

एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् ।

सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै  प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यक्रम गरिएको बताए ।

‘बालुवाटारमा बिहान भएको कार्यक्रममा म पनि सहभागी भएको हो । तर, त्यहाँ सुरक्षा मापदण्ड अपनाइएको थियो’ नेम्वाङको भनाइ थियो ।

तर, सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने भनेर गरेको निर्णय त कार्यान्वयन भएको देखिएन नि रु भन्ने अर्को प्रश्नमा नेम्वाङले आफूलाई त्यो थाहा नभएको बताए ।

‘तपाईले भनेपछि मैले यहाँ सरकारका साथीहरु र कानुन मन्त्रालयमा सोधेँ, त्यो आदेश त औपचारिकरुपमा कार्यान्वयनमा आइसकेको रहेनछ’, नेम्वाङले थपे, ‘निर्णय भएर सरकारले त्यसलाई कानुन मन्त्रालयमार्फत कार्यान्वयनका लागि पठाउँछ । त्यसपछि राजपत्रमा निकालेपछि मात्रै कार्यान्वयनमा जाने रहेछ नि १’ नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बढ्दो कोरोना जोखिमबारे मापदण्ड तय गर्दै आदेश जारी गरेको थियो । मन्त्रिपरिषदले उक्त आदेश पारित गरेको केही घण्टामै सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वसाधारणको जानकारीका लागि भन्दै निर्णयहरु सार्वजनिक गरेका थिए । सो आदेश पालना नगर्नेलाई सजाय हुने गुरुङले बताएका थिए ।

मन्त्रिपरिषदले पारित गरेको आदेशमा कुनै पनि सभा समारोह र धार्मिक कार्यक्रममा समेत २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएको छ । २५ जनासम्म भेला हुँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड जस्तै मास्क, स्यानिटाइजर, दुई मिटरको दुरी अनिवार्य हुनुपर्ने आदेशमा उल्लेख छ ।

कानुन मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले सोमबार मन्त्रिपरिषदले जारी गरेका आदेशहरू सम्बन्धित मन्त्रालयबाट आउने क्रम जारी रहेको बताए । मन्त्रालयमा आउनेबित्तिकै सम्पादन गरेर राजपत्रमा प्रकाशित गर्ने उनले जानकारी दिए ।

‘कोरोनासम्बन्धी पछिल्ला आदेशहरू सवै आइसकेका छैनन्, सम्बन्धित मन्त्रालयबाट यहाँ आइ पुग्नेवित्तिकै प्रकाशित गरिन्छ’, सुचना अधिकारी दाहालको भनाइ छ ।