कात्तिक २४, २०७९ बिहिबार

योर्क शहरको भ्रमणमा रहेका बेलायती राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ। राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङ्टन पोस्टले जनाएको छ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो’ नारा लगाएका थिए भने भीडले ‘भगवानले राजालाई बचाऊन्’ नारा लगाएको थियो।

राजा चार्ल्स नाराबाजीबाट प्रभावित भएनन्, बरू उनी ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहे। राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयाको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारी पक्राउ परेका थिए। उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चार्ल्सको विरोध गरेका थिए।

बेलायतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ। सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेका बेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन्।