बैशाख ७, २०७८ मंगलबार

लुम्बिनी प्रदेशमा ६ सांसद रहेको ४ जना सांसद सरकारमा सहभागी भएपछि जनता समाजवादी पार्टी दुई खेमामा विभाजित भएको छ।

लुम्बिनी प्रदेश सरकार ढलाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित ४ जना मन्त्री बनाएपछि जसपाको दुईथरि भूमिका बाहिर आएको हो।

मन्त्री नियुक्त भएको खबरसँगै जसपामा रमिता देखिएको छ। शंकर पोखरेललाई हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसदहरु सन्तोष पाण्डे, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीसहित हस्ताक्षर नगर्ने कल्पना पाण्डे पोखरेल नेतृत्वको सरकारमा सहभागी भएसँगै जसपाभित्र भाँडभैलो मच्चिएको छ।

जसपाको एक पक्षले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाउँदै कारबाहीको चेतावनी दिएको छ भने अर्को पक्षले सरकारमा जाने मन्त्रीलाई बधाई दिँदै स्पष्टिकरण सोध्नेलाई नै चेतावनी दिएको छ।

जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले निकालेको विज्ञप्तिमा पार्टी निर्णयविपरीत मन्त्री पदको सपथ लिने ४ जना सांसदलाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद समेत नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने चेतावनी दिएका छन्।

जसपाकै लुम्बिनी प्रदेश अध्यक्ष भन्दै रविदत्त मिश्राको नाममा निकालिएको अर्को विज्ञप्तिमा स्पष्टिकरण सोधेकोप्रति ध्यानाकर्षण भएको भन्दै कपोलकल्पित र भ्रमपूर्ण समाचार नदिन चेतावनी दिइएको छ।

मन्त्रीको सपथपछि मन्त्री बनेका सन्तोष पाण्डेको नाममा अर्को रोचक विज्ञप्ति सार्वजनिक भएको छ। विज्ञप्तिअनुसार जसपाका दलका उपनेता विजयबहादुर यादवको अध्यक्षतामा बैठक बसेर दलका नेता सहसराम यादवविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेर यादवलाई दलको नेताबाटै हटाइएको छ।

दलको बैठकमा कल्पना पाण्डे र सुमन शर्मा रायमाझीले अविश्वासको प्रस्ताव ल्याएको र बहुमतले पारित भएको भन्दै दलको नेतामा सन्तोष पाण्डेलाई चयन गरेको विज्ञप्तिमा उल्लेख छ। यादवविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने दुवैजना मन्त्री बनेका छन्।