कात्तिक ३०, २०७९ बुधबार

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लैजान रोक लगाएको छ ।

मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा जान आग्रह गरिएको छ ।

प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानून बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउन समेत आयोगले भनेको छ ।