एजेन्सी : जर्मन बुन्डेसलिगामा लिग फुटबलमा लिडर बायर्न म्युनिखले १० अङ्कको अग्रता बनाएको छ । मङ्गलबार राति घरेलु मैदानमा सम्पन्न खेलमा लिभरकुसेनमाथि २–० गोलको सहज जित निकाल्दै शीर्ष स्थानको बायर्नले १० अङ्कको अग्रता बनाएको हो ।
घरेलु टोली बायर्नलाई जिताउन इरिक म्याक्सिम चौपो–मोटिङ र जोसुआ किम्मिचले समान १/१ गोल गरे ।
जारी खेलको सातौँ मिनेटमा चौपो–मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । त्यस्तै खेलको १३औँ मिनेटमा किम्मिचले गोल गरेपछि बायर्नले आफ्नो अग्रता दोब्बर बनायो । पहिलो हाफमै २-० गोलको अग्रता बनाएको बायर्नले दोस्रो हाफको बाँकी समय गोल नहुँदा बायर्न २–० गोलले विजयी भयो ।
उक्त जितसँगै बायर्नले ३० खेलमा ७१ अङ्क जोडेको छ । ऊ दोस्रो स्थानको आरबी लेइपिजभन्दा १० अङ्कले अगाडि छ । यता पराजित लिभरकुसेन भने ४७ अङ्कका साथ छैटौँ स्थानमा छ ।