बैशाख ८, २०७८ बुधबार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलका ६ क्लबले युरोपियन सुपर लिग (इएसएल) बाट नाम फिर्ता लिएका छन् । 

प्रतियोगिताको चौतर्फी आलोचना भएपछि प्रिमियर लिगका ६ वटै क्लबले सुपर लिगबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

गत आइतबार युरोपका १२ क्लबले आफ्नो नेतृत्वमा रहनेगरी युरोपियन सुपर लिगको घोषणा गरेका थिए । जसमा इंग्ल्याण्का सर्वाधिक ६, स्पेनका ३, इटालीका ३ गरी १२ वटा क्लबहरूले संस्थापक रहनेगरी सुपर लिगको घोषणा गरेका थिए ।

संस्थापक क्लबमा अरू तीन क्लब थपेर १५ बनाइने योजनासहित नयाँ लिगको घोषणा गरिएको थियो । उक्त लिग घोषणालगत्तै विवादित पनि बनेको थियो । युइएफए र फिफाले इएसएललाई अस्वीकार गर्दै उक्त लिग खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने चेतावनीसमेत दियो । यस्तै, फिफाले पनि समानान्तर प्रतियोगितालाई मान्यता नदिने बताएको थियो ।

चौतर्फी विरोध भएपछि इंग्लिस क्लब म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमले नाम फिर्ता लिएका हुन् ।