चौतारा : सिन्धुपाल्चोक जिल्लाकाे मेलम्चीमा सम्पन्न जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि हेलम्बु गाउँपालिकाले जितेको छ ।
मेलम्चीमा बुधबार भएको फाइनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकामाथि हेलम्बु गाउँपालिकाले ३-१ को सोझो सेटमा सहज जित निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उक्त उपाधिसँगै हेलम्बु गाउँपालिकाले नगद १ लाख कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यता उपविजेता चौताराले नगद ५० हजार सँग कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिता तेस्रो स्थान प्राप्त गरेको मेलम्ची नगरपालिका र चौथो इन्द्रावती गाउँपालिकाले समान २५/२५ हजार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कार वापत पाँचपोखरी थाङ्पाल गाउँपालिकाले १० हजार पाएको आयोजक हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट ६ खेलाडीले समान ३/३ हजार नगद पुरस्कारकासहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
कुन विधामा कुन खेलाडीले के जिते ?
- उत्कृष्ट खेलाडी फुरल्हामु पाख्रिन ( हेलम्बु गाउँपालिका )
- उत्कृष्ट स्पाइकर चाहना तामाङ ( हेलम्बु गाउँपालिका )
- उत्कृष्ट डिफेन्डर रीमा भुजेल ( हेलम्बु गाउँपालिका )
- उत्कृष्ट लिफ्टर अमिना तामाङ ( हेलम्बु गाउँपालिका )
- उत्कृष्ट सर्भर सुस्मिता श्रेष्ठले ( चौतारा साँगाचोकगढी नगरपालिका )
- नव प्रतिभा खेलाडी रमिला तामाङ ( मेलम्ची नगरपालिका )
त्यस्तै समापन कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपालले खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।
प्रतियोगिता हाम्रो टिम मेलम्चीको आयोजना, रेडियो मेलम्चीको सह—आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई जिल्ला तथा अन्य क्षेत्रमा सहभागी गराइने समेत आयोजकले बताएको छ ।