सिन्धुपाल्चोक ! भोटेकोशी गाउँपालिकाको आयोजनामा सुरु भएको राष्ट्रिय महिला भलिवल अध्यक्ष कपमा होङगाञ्जी न्यू डाइमण्ड स्पोर्टस क्लब काठमाडौंले विजयी सुरुआत गरेको छ ।
आज (बुधबार) तातोपानीमा भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराउँदै न्यू डाइमण्ड विजयी भएको हो ।
न्यू डाइमण्डले आर्मीलाई २५—१४, २५—९ र २५—१४ को सेटमा पाखा लगायो ।
त्यस्तै आजको खेलमा न्यू डाइमण्डकी झरना म्यान अफ दि म्याच घोषित भइन् । उनलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले ट्रफी र नगद दुई हजार प्रदान गरे ।
आगामी शनिबारसम्म चल्ने यस प्रतियोगितामा पाँच टिम सहभागी छन् । आर्मी, न्यू डाइमण्डसहित एपीएफ, नेपाल पुलिस क्लब र ढोरपाटन क्लबले सहभागिता जनाएका हुन् ।
त्यस्तै प्रतियोगिताको विजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचलाई ट्रफीसहित नगद २ हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद ७ हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ पाउनेछन् ।