बैशाख ९, २०७८ बिहिबार

आजको मौसम

देशका अधिकांश क्षेत्रमा बुधबार रातिदेखि नै मध्यमदेखि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा मध्यम तथा तराईमा हल्का वर्षा भएको हो ।

बिहीबार बिहान पनि वर्षा भइरहेको छ । तर बिस्तारै पानी पर्ने क्रम रोकिने मौसमविदले बताए ।

उनले भनेका छन्, ‘बिस्तारै मौसमी प्रणाली पूर्व तिर सर्दै गएको छ । दिउँसो तिर पानी पर्ने क्रम रोकिने छ । घाम राम्रोसँग नलागे पनि मौसम बिस्तारै खुल्दै जानेछ । भोलि मौसम सफा रहने छ ।’

बदली तथा वर्षासँगै केही स्थानमा बुधबार राति चट्याङ्ग समेत परेको उनले बताए ।

अहिले प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ ।

यस्तै राति देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबिच प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।