झापा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ।
आज बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए। झापा– २ मा हाल एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ स्थानबाट गणना सुरु गरिने मत गणक कर्मचारी सौगात कटुवालले बताए। करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए।
क्षेत्र नं २ मा कूल मतदाताको ६५ दशमलव ४२ प्रतिशत अर्थात् ८७ हजार सात सय २३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लामा निर्वाचनमा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्लाको कूल मतदाता सङ्ख्या छ लाख ६३ हजार तीन सय ११ रहेकोमा चार लाख ४६ हजार दुई सय ५५ मत खसेको कार्यालयले जनाएको छ।रासस