पाकिस्तानको क्वेटा शहर स्थित सुविधा सम्पन्न सेरेना होटलमा बम बिस्फोट हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ ।
अरु ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विष्फोटपछि घाइते ११ जनालाई अस्पताल भर्ना गरिएको छ । विष्फोटमा मृत्तकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । चिनियाँ पक्षलाई लक्षित गरी विष्फोट गराइएको अनुमान गरिएको छ ।
क्वेटा शहरको सेरेना होटलको कार पार्किङ्ग क्षेत्रमा आक्रमण भएको हो । सेरेना होटलमा चिनियाँ राजदूत बस्दै आएका थिए, तर आक्रमणका बेला उनी त्यहाँ नरहेको पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशिद अहमदले बताएका छन् । राजदूत नोङ्ग रोङ्ग सुरक्षित रहेको उनले बताएका छन् ।
आक्रमणकारीले पाकिस्तानका लागि चिनियाँ राजदूतलाई निशाना बनाउन खोजेको हुन सक्ने बताइएको छ । क्वेटा शहरको बलुचिस्तानमा चिनियाँ लगानी बढ्दै गएकोले त्यसको विरोधस्वरुप तालिवानले बम विष्फोट गराएको अनुमान गरिएको छ ।
बिस्फोटक पदार्थले भरिएको कार होटलको पार्किङ्ग क्षेत्रमा गएर बिस्फोट भएको मन्त्री अहमदले स्थानीय एअर न्यूज च्यानललाई बताएका छन् । आक्रमणको जिम्मा पाकिस्तानी तालिबानले लिएको छ ।