सरकार विरोधी प्रदर्शनको खुला रूपमा समर्थन गरेका इरानका दुई अभिनेत्री पक्राउ परेका छन्। इरानको सरकारी सञ्चारमाध्यममा प्रकाशित खबर अनुसार दुई प्रख्यात अभिनेत्री पक्राउ परेका हुन्।
हेन्गामेह गाजियानी र कातायोअन रियाहीलाई इरानी अधिकारीको विरोधमा काम गरेको तथा साँठगाँठको अभियोग लगाइएको समाचार संस्था इर्नाले जनाएको छ।
दुवै अभिनेत्रीहरू टाउको छोप्ने गम्छा ९रुमाल० बिना सार्वजनिक स्थानमा प्रस्तुत भएका थिए। उनीहरूले सरकार विरोधी प्रदर्शनको समर्थनमा यस्तो गरेका हुन्।
प्रहरी हिरासतमा रहेकी युवतीको गएको सेप्टेम्बरमा मृत्यु भएपछि इरानमा प्रदर्शन हुँदै आएको छ। २२ वर्षकी महसा अमिनीलाई इरानको अनुशासन प्रहरीले राजधानी तेहरानबाट नियन्त्रणमा लिएको थियो।
उनीमाथि हिजाब लगाउनु पर्ने कडा नियम उल्लंघन गरेको आरोप लगाइएको थियो। पक्राउ परेको तीन दिनपछि सेप्टेम्बर १६ मा उनको मृत्यु भयो। प्रहरीको ज्यादतीका कारण उनको मृत्यु भएको आरोप छ।
उनको प्रहरीले हत्या गरेको आरोप प्रदर्शनकारीले लगाउने गरेका छन्। तर प्रहरीले भने ज्यादती नभएको दाबी गर्दै आएको छ।
अमिनीको निधनपछि इरानमा विशेषगरी युवतीहरुले प्रदर्शन गरे, त्यसको समर्थनमा समाजका अरु पक्ष पनि आएका छन्। महिला तथा युवतीहरुले हिजाब नलगाउने, कपाल काट्ने सहितका अभियान अपनाएर विरोध गर्दै आएका छन्।
अभिनेत्रीहरुले पनि सो प्रदर्शनमा ऐक्वद्धता जनाएका हुन्। विभिन्न अवार्ड जितेका दुवै अभिनेत्रीलाई आइतबार पक्राउ गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै इरानी समाचार संस्थाले जनाएको छ।
पक्राउ पर्नुअघि अभिनेत्री गाजियानीले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘जेसुकै होस्, तर यो कुरा ख्याल राख्नु म जहिले पनि इरानी नागरिकको पक्षमा उभिनेछु। सायद यो नै मेरो अन्तिम पोस्ट हुन सक्छ।’