मंसिर ५, २०७९ सोमबार

सधैँको उपाधि दाबेदार मानिने इंग्ल्यान्ड सोमबार एसियन प्रतिद्वन्द्वी इरानसँगको खेलसँगै विश्वकप यात्रा सुरु गर्दैछ।

साँझ ६स्४५ मा हुने खेलमा एकअर्काविरुद्ध दुवै टिम पहिलोपटक प्रतिस्पर्धा गर्दैछन्।

विश्वकपमा फितलो देखिने गरेको इंग्ल्यान्डले पछिल्लो समय आफूलाई प्रमाणित गर्नु पर्ने चुनौती छ।

युरोपियन च्याम्पियनसिपको फाइनल पुगेकाले पनि इंग्ल्यान्ड विश्वकपमा आफूलाई बलियो दाबेदार देखाउन पनि सुरुवातबाटै राम्रो लयमा आफूलाई देखाउन चाहन्छ।

सन् २०२० मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरे पनि इटालीसँग पराजित भएर उपविजेता बनेको इंग्ल्यान्ड विश्वकपमा पनि आफ्नो लयलाई निरन्तरता दिने ध्याउन्नमा रहेको छ।

इंग्ल्यान्डले सन् २०१८ को रसिया विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। त्यसैले ग्यारेथ साउथगेटको टोलीले आज समूह ‘बी’ को पहिलो खेलमा इरानलाई सहज रुपमा हराउने आँकलन गरिएको छ। तर इरान आफ्नो ‘डार्क हर्स’को छवि दोहोर्‍याउन चाहन्छ।

सन् २०१८ मा इङल्यान्ड सेमिफाइनलमा क्रोएसियासँग स्तब्ध हुँदा सम्भावित उपाधि भिडन्तबाट बञ्चित भएको थियो।

युइएफए नेसन्स लिगमा खराब नतिजाका कारण घटुवामा परेको इंग्ल्यान्डका लागि लयमा फर्कनु नै सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

त्यसो त इरान पछिल्लो समय इंग्ल्यान्ड बिग्रिएको लयको फाइदा उठाउँदै सरप्राइज नतिजाको पर्खाइमा छ।

समूहमा इंग्ल्यान्ड, अमेरिका र वेल्स रहेकाले इरानका लागि सहज भने छैन। रुस विश्वकपको समूह चरणमा स्पेनसँग निराश भएको इरानले पोर्चुगलसँग अंक बाँडेको थियो। पहिलो खेलमा मोरक्कोमाथि इरानले जित निकालेको थियो।

इंग्ल्यान्डविरुद्धको हारले इरानको समूह चरण पार गर्ने लक्ष्य पहिलो खेलबाटै कठिन बन्न सक्छ। इरान सोही लय यस पटक कायम रहोस् भन्ने लक्ष्यमा रहेको छ।

इरानले सन् १९९८, २००६, २०१४ र २०१८ को विश्वकपमा प्रतिस्पर्धा गरे पनि अहिलेसम्म नकआउट चरणमा प्रवेश गर्न सकेको छैन। इरान र इंग्ल्यान्डबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।