स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेको लाभांश सुरक्षित गर्ने आज (मंसिर ६ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ७ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको मंसिर १ गते, बिहीबार, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३६औँ वार्षिक साधारण सभा मंसिर २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।
सभामा बैंकको कार्तिक १४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६।५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनीहरूको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।