काठमाडौँ । ‘अमेरिकी डलरको खेलौना नोट’ बोकेर हिड्दा २४ वर्षीय भारतीय फोटोपत्रकार दुर्लभरोय चौधरीले एक वर्ष कैद सजाय भोग्नुपरेको छ । चौधरीले नेपाल प्रहरीले एक वर्ष कैद सजाय दिएर आफूमाथि अन्याय भएको भन्दै न्यायको लागि उच्च अदालत इलाममा मुद्दा दायर गरेका छन् ।
नेपालका मिडिया र राष्ट्रिय फोटोपत्रकार समुहले महत्वका साथ चासो दिएपछि आफ्नो मुद्दा फास्ट ट्रयाकबाट सुुनुवाई भएको पनि उनले बताए । प्रहरी र सरकारी वकिलबाट ‘नक्कली अमेरिकी डलरको उत्पादन तथा प्रयोग गर्ने प्रयास’ भनेर आफूमाथि ५ वर्षदेखि १० वर्षसम्मको कैद सजायको मागदाबी लिइएको समेत उनले बताए ।
उनले झापा जिल्ला अदालतले उक्त सरकारी अभियोगपत्रको मागदाबी अस्वीकार गर्दै नक्कली वा खेलौना नोट बोकेर हिँड्नु पनि अपराध रहेको भन्दै आफूलाई १ वर्ष कैद सजाय र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको सुनाए । सो फैसलाको चित्त नबुझेकोले आफू उच्च अदालत इलाममा अभियोगको सफाईको माग गर्दै पुनरावेदन लिएर गएको स्पष्ट पारे । उनले आफू यही मंसिर २ गते १ वर्षको कैद सजाय काटेर रिहा भएपछि काठमाडौं आएको बताए ।
चौधरीले सुस्त गतिमा सुनुवाइ भइरहेको आफ्नो मुद्दा नेपाली सञ्चारमाध्यममा समाचार आएपछि तीब्रगतिमा सुनुवाई भएको र समाचार आएको करिब १ महिनापछि फैसला आएको बताए ।
‘कानुनको सामान्य अज्ञानता र नेपाली सरकारी कर्मचारी तथा सीमामा कार्यरत कर्मचारीकै कमजोरीका कारण मैले एक वर्षको कैद सजाय भोग्नुप¥यो । यदि उनीहरुले मलाई यस्तो खेलौना नोट बोकेर हिँड्न पनि अनुमति लिनुपर्छ भनिदिएको भए म ती खेलौना नोटको अनुमति लिन्थे तर उनीहरुले केही नभनिदिएको कारण मैले धेरै दुख पाएँ । प्रहरीले गलत कागजमा मलाई रिहाईका लागि हो भन्दै हस्ताक्षर गर्न लगाएर अपराध कबुल गर्न लगाएको रहेछ, त्यसकारण पनि मैले दुख पाएँ । यद्यपी नेपाली सञ्चारमाध्यमले गरेको सहयोगप्रति म धेरै आभारी छु । अहिले मेरो मुद्दा उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको कारण त्यस सम्बन्धमा मैले धेरै बोल्न मिल्दैन, यद्यपि मैले आफ्नो सफाईको मौका अदालतमा मात्रै होइन, मिडियामा पनि बोल्न पाइन्छ भनेर यति भनिरहेको छु ।’–उनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।