काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलोपटक आयोजना हुन गईरहेको बहुप्रतिक्षित फ्रेन्चाईज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल) को पुरस्कार राशी घोषणा गरिएको छ ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सुपर लिगको पुरस्कार घोषणा गरेको हो । खुकुरी नेपाल सुपर लिग विजेताले उपाधिसहित नगद ३५ लाख पाउनेछ ।
त्यस्तै उपविजेताले भने १५ लाख प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही १/१ लाख हात पार्नेछन् । त्यसैगरी आयोजकले प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने एकजना उदीयमान खेलाडीलाई पनि पुरस्कृत गर्ने बताएको छ । यसको पुरस्कार राशीबारे भने खुलाएको छैन । त्यस्तै प्रत्येक खेलाा म्यान अफ दि म्याचलाई २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको एक जना इमर्जिङ प्लेयरलाई पनि १० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
सुपर लिगका सबै खेलहरु दशरथ रंगशालामा हुने यसअघि नै आयोजकले बताइसकेको छ । साथै हाल देशमा बढ्दो कोरोना संक्रमणको जोखिमका कारण सुपर लिगका सबै खेलहरु दर्शक बिना नै खाली रंगशालामा खेलाइने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहने सुपर लिगमा देशका विभिन्न सात शहरहरुका फ्रेन्चाईज टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सुपर लिगको उद्घाटन खेलमा बैशाख ११ गते शनिबार काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् । उक्त उद्घाटन खेल शनिबार ५ः३० बाट सुरु हुनेछ । यस प्रतियोगिता कुल ७ टोलीको सहभागिता रहेको छ।
यस्ता छन् सहभागी टोलीहरुः
बुटवल लुम्बिनी एफसी, ललिभपुर सिटी एफसी, काठमाडौं रेजर्स, बिराटनगर सिटी फुटबल क्लब, पोखरा थन्डर्स, एफसी चितवन, धनगढी एफसी