मंसिर ८, २०७९ बिहिबार

भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आईसीपीको कस्टम यार्डसम्म आगामी पुस महिनाको दोस्रो हप्तासम्ममा कार्गे रेल ल्याउने पहल बढेको छ ।


कोलकाता बन्दरगाहबाट विराटनगर–१८, बुधनगरस्थित आईसीपीसम्म डिसेम्बर १५ (मङ्सिर अन्तिम)सम्ममा कार्गो रेल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउने सङ्केत दिन बुधबार स्थलगत निरीक्षण गरेका छन् । भारतीय रेलवे विभागअन्तर्गत एनएफ रेलवे, कटिहार मण्डलका कर्नल एसके चौधरीसहितको टोली रेल कस्टम यार्डमा आएर फर्केको हो ।

रेलवे विभागअन्तर्गत बथनाहा–कटहरी रेलवेका साइड इन्जिनियर रोशनकुमार देवले भारतीय रेलवे विभागका अधिकारीहरू अन्तिम तयारीमा जुटिरहेको जानकारी दिए ।

उनले नेपाल कस्टम यार्डको तयारीका लागि आवश्यक पर्ने सामान लिएर आउने जाने कामका लागि उनीहरूले रेल लिएरै आउने गरेको बताए । भारतीय रेलवे अधिकारीले आफ्नो प्रयोजनका लागि रेल लिएर आउने विषय जानकारीमा नभए पनि आगामी डेढ महिनाको अवधिमा कार्गो रेल सञ्चालनको प्रक्रियामा रहेको इन्जिनियर देवले जानकारी दिए ।

आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेल ल्याउन आवश्यक पूर्वाधार तयारी गर्ने विषयसमेत अगाडि बढाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।