बैशाख ११, २०७८ शनिबार

आज बिहानै एकजना साथीले सामाजिक सञ्जालमा ू१५ औँ लोकतन्त्र दिवसको शुभ कामनाू भनेर लेखेका थिए । उक्त पोष्टमा धेरैका टिप्पणीहरू निराशाजनक थिए । ती साथी स्वयंले पनि टिप्पणीको जवाफमा लेखेका थिए(( ूलोकतन्त्र दिवसको शुभ कामना भनेर त लेखेँ तर मलाई नेपालमा लोकतन्त्र आएको अनुभूति नै भएन । लोकतान्त्रिक परिपाटीको अभ्यास भएको फिटिक्कै देखिन्न,  यो सब देखेर मन कुँडिन्छू ।

२००७ साल फागुन ७ गतेका दिन नेपालमा जहानियाँ राणा शासन अन्त्य भएको भन्दै उक्त दिनलाई प्रजातन्त्र दिवसका रूपमा मनाइन्छ । यस दिनलाई नेपाली काँग्रेसले विशेष दिनका रूपमा मान्दछ । २०६२र०६३ सालपछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा वैशाख ११ गते लोकतन्त्र दिवस मनाइँदै आएको छ । लगत्तै विक्रम संवत् ०६५ साल जेठ १५ गतेको संविधानसभाको पहिलो बैठकले नेपालमा राजतन्त्र विस्थापन गर्‍यो र उक्त दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते केहीले गणतन्त्र दिवस मनाउँछन् । 

यसरी अलगअलग कालखण्डमा पटकपटक नामकरण गरिएका तन्त्रहरू हामीले देख्दै आयौँ । तर ती तन्त्रअनुरूप राज्यव्यवस्था चलेको छ कि छैन, पात्र र पात्रता ठीक छ कि छैन, राज्यका संयन्त्र सही ढङ्गले सुचारु भएका छन् कि छैनन्, ती संयन्त्रहरू नागरिकमुखी हुन सकेका छन् कि छैनन्, राज्य आफै सेवक बन्न सकेको छ कि छैन रु   यसबारे खासै चिन्तन भएको देखिँदैन । काँग्रेसले कुनै एक दिवसलाई विशेष महत्वका साथ मनाउने र माओवादीले अर्को दिवसलाई विशेष महत्व दिने भएका कारण नागरिक तहमा पनि त्यसको प्रत्यक्ष असर परेको देखिन्छ । जसका कारण नेपालमा अभ्यास हुँदै आएको शासन व्यवस्थाबारे जनतामा अनभिज्ञता अद्यापि कायमै छ । 

यी दिवसका श्रृङ्खलाहरूलाई राजनैतिक दलहरूले चुनावताका जनमत बटुल्न र आफ्ना स्वार्थ सिद्धिका लागि शक्ति आर्जन गर्ने औजारका रूपमा प्रयोग गरिरहेका छन् ।   त्यो आर्जित शक्तिले तिनै दलका नेताहरूलाई सम्पन्न बनाउँदै गएको छ भने यी तन्त्रहरूमा जो वास्तविक शक्तिमान् हुनुपर्ने हो ऊ नै निरीह बन्दै गएका छन् । यो विडम्बनापूर्ण हो । जनताहरू आशावादी छन्, उनीहरूको आशा निराशामा परिणत नगरियोस् ।