मंसिर १२, २०७९ सोमबार

काठमाडौँ । अनेरास्ववियु केन्द्रीय सदस्य तथा बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव आज नौ दिनपछि उठाइने भएको छ । 


मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव श्रद्धाञ्जलिका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए । त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ ।

निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ । कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो । नेकपा एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषिमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ ।

त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद भई तनावपूर्ण स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले गोली समेत चलाएका थिए । सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी ७ का सञ्जिव अयडीको मृत्यु भएको थियो । उनको गत शुक्रबार दाहसंस्कार गरिएको छ ।