मंसिर १३, २०७९ मंगलबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्ती हटाउन खोजेपछि सरकारी जमिन अतिक्रमण गरी बस्दै आएकाहरूले महानगरपालिका घेरेका छन् । सुकुम्बासीहरू ठूलो संख्यामा रहे पनि माथिको आदेश भन्दै प्रहरीले महानगरपालिकालाई असहयोग गरेको छ भने सुरक्षामा नगर प्रहरीमात्रै तैनाथ गरिएको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाले थापाथलीमा सोमबार भएको झडपमा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरूविरुद्ध जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंमा उजुरी गरेको छ ।

हतियारसहित आक्रमण गरी नगर प्रहरीलाई घाइते बनाउनेहरू विरुद्ध महानगरले किटानी उजुरी गरेको हो । सुकुम्वासीहरूको आक्रमणबाट महानगर प्रहरी बल प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरी घाइते भएका थिए ।