बैशाख १२, २०७८ आइतबार

काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलो आयोजना भएको खुकुरी नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाईज फुटबल प्रतियोगितामा विराटनगर एफसीले धनगढी एफसीमाथि सहज जित निकालेको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० गोलको शानदार जित निकालेको हो । विराटनगरको जितमा बिक्रम धिमालले ,एडिलाजा सोमिडेले र सन्तोष तामाङले १/१ गोल गरे । 

पहिलो हाफमा १-० गोलको अग्रता बनाएको विराटनगरले दोस्रो हाफ थप २ गोल गर्न सफल भयो । खेलको १५ औं मिनेटमा बिक्रमको गोलबाट अग्रता बनाएको विराटनगरले दोस्रो हाफको खेलको ५७ औं मिनेटमा एडिलाजा सोमिडेले गोल गर्दै विराटनगरलाई २-० को अग्रता दिलाएका हुन् ।

त्यस्तै ६९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई ३-० गोलको जित पक्का गरे । उक्त जित सँगै विराटनगरले सुखद सुरुवात गर्दै शीर्ष स्थानमा उक्लिएको हो । 

यता धनगढीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।