बैशाख १२, २०७८ आइतबार

काठमाडौ ! शनिबारबाट सुरु भएको पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो खेलमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्समाथि २-० गोलको सहज जित निकाल्दै सुखद सुरुवात गरेको हो । बुटवल लुम्बिनीको जितमा अर्मान्ड बेडुमले १ गोल गर्दा अर्को गोल भने उपहार पाएको थियो । 

पहिलो हाफको खेलको ४२ औं मिनेटमा अर्मान्ड बेडुमले गोल गर्दै बुटवललाई १-० गोलको सुरुवाती अग्रता दिलाएका थिए ।

त्यस्तै दोस्रो हाफको ७६औं मिनेटमा मान बहादुर परियारको लामो फ्रिकिकमा अर्मान्डको हेडर पोखराका डिफेन्डर अजित भण्डारीलाई लाग्दै गोल भएको थियो ।

उक्त जित सँगै बुटवल लुम्बिनीले प्रतियोगितामा सुखद सुरुवात गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । यता पोखराले भने हार बाट प्रतियोगिताको सुरुवात गरेको छ ।