मंसिर १४, २०७९ बुधबार

खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनाधिकृत संरचना ३५ दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

निर्देशन कार्यान्वयन नगरे उक्त अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकणले जनाएको छ ।

“उपत्यकाका नगरहरूको पुनर्निर्माण, विकास र विस्तारमार्फत काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ उपत्यकामा योजनावद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौं उपत्यका विकास प्राधिकरणको स्थापना भएको हो,” सूचनामा उल्लेख छ ।

उक्त मापदण्डको कार्यान्वयन सम्बन्धमा नियमित, नियन्त्रण र निषेध गर्ने अधिकार काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ८ बमोजिम अगाडि बढ्ने पनि प्राधिकरणले जनाएको छ ।