मंसिर १५, २०७९ बिहिबार

काठमाडौं । भारी वर्षाका कारण  ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।


पहिरोले ब्राजिलको बीआर थ्री सेभेन सिक्स राजमार्ग प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सडकको २ सय मिटर खण्डमा खसेको पहिरोले ६ वटा ट्रेलर र राजमार्गमा अन्य १५ वटा सवारीसाधन पुरिएको जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परि करिब ५० जना बेपत्ता भएका छन् । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी राखिएको छ ।

अन्य तटीय क्षेत्रहरूमा भारी वर्षासँगै आएको बाढीले ५ सय भन्दा बढी घरहरुमा क्षति पुगेको जनाइएको छ । पहिरोले खाद्यान्न ढुवानीका लागि प्रमुख बन्दरगाह पारानागुवा पनि अवरुद्ध बनेको छ ।