मंसिर १५, २०७९ बिहिबार

लण्डनस् भूपू गोर्खाको माग सम्बोधनका लागि नेपाल सरकार र बेलायत सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ।

बुधबार लण्डनस्थिति नेपाली दूतावासमा करिब दुई घण्टासम्म चलेको वार्तामा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालयका पदाधिकारी र भूतपूर्व गोर्खाका प्रतिनिधिको सहभागिता रहेको नेपाली दूतावासले जनाएको छ।

गोर्खाको समस्या समाधानका लागि तय गरिएको यो बैठकलाई प्राविधिकस्तरको बैठकका रूपमा हेरिएको छ। बैठकमा भूपू गोर्खाको मुख्य माग पेन्सनका विषयमा विस्तृत छलफल भएको र रक्षा मन्त्रालयका पेन्सनसम्बन्धी विभागका पदाधिकारीसँग पुनः अर्को बैठक छिट्टै गरिने सहमति भएको दूतावासकी उपनियोग प्रमुख रोशना खनालले जानकारी दिइन्।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली दूतावास उपनियोग प्रमुख रोशन खनाल, द्वितीयसचिव रामबाबु नेपाल र बेलायती रक्षा मन्त्रालयको तर्फबाट आर्मर्ड फोर्सेस पिपुल सपोर्ट डिभिजनका जेम्स ग्रीनरड, जेनेभिभ होर्स्टेड, जेन्ना क्लेयर, म्याथ्यु लियोन र  ब्रिगेड अफ गोर्खाज हेडक्वार्टरका कर्णेल डेभिड रविन्सन सहभागी थिए।

यस्तै इन्टरनेसनल पोलिसी एन्ड स्ट्राटेजीका स्क्वाड्रोन लिडर गेभिन रिचार्डसन र आर्मर्ड फोर्सेस पारिश्रमिक विभागकी नाजिया लोधी, भूतपूर्व गोर्खाको तर्फबाट मेजर जुदबहादुर गुरुङ, मेजर, टिकेन्द्र दल देवान र मेजर उदयबहादुर गुरुङ सहभागीरहेको दूतावासले जनाएको छ।

तेस्रो वार्ता डिसेम्बर दोस्रो सातासम्म गर्ने गरी बैठक सम्पन्न भएको बताइएको छ ।