मंसिर १५, २०७९ बिहिबार

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन्। 

चेतनका आफन्तले हत्यामा संलग्न भएको आरोप लगाउदै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख सूर्य थापाले चेतन मृत्यु प्ररकरणमा किटानी जाहेरी आएपछि वडा अध्यक्षलाई प्रक्राउ गरेको बताए। उक्त घटनाको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थापाले बताएका छन्।

उनी नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष हुन्। विद्यार्थी नेता चेतनको हत्या आरोपमा अहिलेसम्म तीन जना प्रहरीको नियन्त्रणमा छन्। एक जनालाई सोधपुछपछि छोडिएको छ। प्रहरीको गोली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो भने विद्यार्थी नेता चेतनको कुटपिटबाट मृत्यु भएको थियो। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनको काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेको छ।