मंसिर १६, २०७९ शुक्रबार

सर्लाही पुरानो अनि जीर्ण तीन कोठे भवन। चीरा चीरा परेका भित्ताहरु। प्लास्टिकले छोपिएका झ्याल। अलपत्र रुपमा राखिएका औषधि। र, चर्किएका भुई।  निकै बिजोग र उदेक लाग्दो यो तस्विर हो, सर्लाहीको बलरा नगरपालिकास्थित अर्नाहा स्वास्थ्य चौकीको। यो स्वास्थ्य चौकी वडा नम्बर ५ मा पर्छ। 

बिरामीलाई उपचार दिने भवन नै जोखिममा छ। अनि त्यही जोखिम मोलेर त्यहाँका स्वास्थ्यकर्मीहरु उपचार सेवा दिन बाध्य छन्। अर्नाह स्वास्थ्य चौकीका सिए अहेव रामवचन साह निकै जोखिम मोलेर स्वास्थ्य सेवा दिनु परेको गुनासो गर्छन्। भूकम्पले चर्किएको भवन नै भत्काउने हो की भन्ने उनको चिन्ता छ। बस्नै नसकिने भवनमा स्वास्थ्यकर्मीहरु जोखिम मोलेर सेवा दिइरहेका छन्। 

स्वास्थ्य चौकी कुनै पनि बेला भत्किने डर छदैछ। वर्खाको समयमा त झन् सेवा दिन नै गाह्रो हुने गरेको उनी बताउँछन्। भारी वर्षा आएको बेला डुबानमा र सामान्य वर्षा भएको बेला छतबाट पानी चुहिने समस्याबाट उनी आजित छन्। हुरी बतास आउँदा झ्यालबाट भित्रको सामान उडाउने अर्को समस्या। 

चर्किएको भित्ता र झ्याल देखाउँदै अहेव साह भन्छन्, ‘पानी परेको बेला माथिबाट पानी चुहिरहन्छ। झ्यालबाट हुरी बतास आउँदा सामान यताउता पुर्‍याउँछ। यो छत कुन बेला झरेर टाउकोमा खस्छ, थाहा नै छैन। तर के गर्नु यहाँ नबसेर पनि नहुने।’ 

बिरामी जाँच्ने कोठामा मात्र होइन। औषधि राख्ने स्टोरमा समेत पानी चुहिने समस्या छ। अनि खुला रहेको झ्यालबाट भित्र कोठामा घामको किरण सजिलै पस्छ। कतिपय औषधिलाई निश्चित तापक्रममा राख्नुपर्छ। तर अर्नाहामा औषधिको भण्डारण पनि सुरक्षित देखिएन। न कुनै कागजपत्र नै सुरक्षित राख्ने स्थान देखियो। भएको एउटा दराजको हालत पनि बेहाल छ। दराजको ढोका नै छैन। कागजपत्र यत्रतत्र छरिएका छन्। मुसाले सबै काजगपत्र च्यातिदिने गरेको साह बताउँछन्। 

‘औषधि राख्ने कोठामा पनि पानी चुहिन्छ। र्‍याकमा औषधि राखेका छौँ। तर उताको कोठाको झ्याल पनि कुहिसकेको छ। कागजपत्र राख्ने पनि व्यवस्था छैन। मुसाहरु पसेर पुरै काटिदिन्छ’ उनले भने।

२०७४ सालको बाढीले क्षति पुर्याएको स्वास्थ्य संस्थामध्ये अर्नाहा पनि एक हो। यो स्वास्थ्य चौकीकै पछाडी एउटा पोखरी पनि छ। भारी बर्खाको बेला त्यही पोखरी भरिएर यो स्वास्थ्य चौकी डुबानमा पर्ने गर्दछ। 

अर्नाहाको नयाँ भवन बनाउन प्रयास नगरिएको होइन। नयाँ भवन बनाउन थालिएको २० महिना भयो। वडाध्यक्ष र पूर्वमेयरको उपभोक्ता समितिको विषयमा खटपट हुँदा भवन निर्माण २० महिनादेखि अलपत्र परेको स्वास्थ्यचौकीका एक स्वास्थ्यकर्मी बताउँछन्। हालको जीर्ण भवनमा सेवा दिन सकिने अवस्था नभएकाले भाडामा भएपनि भवन व्यवस्था गर्न अहेवले स्थानीय सरकारलाई आग्रह गरेको बताए।  

भवन निर्माणका लागि तीन वर्ष अघि आर्थिक वर्ष २०७७/७८ मा १२ लाख २० हजार रुपैयाँ बजेट बिनियोजन भएको थियो। तर आन्तरिक र राजनीकि विवादका कारण भवन निर्माणको काम अघि बढ्न सकेन। गत वर्ष पनि २० लाख रुपैयाँ बजेट बिनियोजन भएपनि काम अघि बढ्न नसक्दा उक्त बजेट फ्रिज भएको थियो।

वडा नं ५ अर्नाहाका वडाध्यक्ष मनोज मोहन सिंहले यस वर्ष स्वास्थ्य चौकी भवन निर्माणको काम पुनः सुरु गरिने बताए। चालु आर्थिक वर्षमा स्वास्थ्य चौकी निर्माणका लागि १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको उनले जानकारी दिए। 

शौचालय र पानीको व्यवस्था समेत छैन
नेपालको स्वास्थ्य सेवा प्रणालीमा स्वास्थ्य चौकी सबैभन्दा आधारभूत तहको स्वास्थ्य संस्था हो। जनस्तरमा पुगी सेवा प्रदान गर्ने संस्था नै स्वास्थ्य चौकी हो। तर यी अर्नाहा स्वास्थ्य चौकीको भवन गतिलो नहुँदा अपेक्षाकृत सेवा र सेवाको गुणस्तर दिन सकेको छैन। 

स्वास्थ्य चौकीले खोप, परिवार नियोजन, गर्भवती एवं शिशु जाँच, साधारण प्रसुति, नवजात शिशु सेवा, डट्स प्रणाली, पोषण, मानसिक स्वास्थ्य, नसर्ने रोगहरुको परामर्श तथा स्क्रिनिङ्ग, स्थानीय स्तरमा सामान्य रुपमा देखिने सरुवा रोगको प्रकोप, औषधि वितरण, प्रयोगशाला सेवा तथा अन्य स्वास्थ्य प्रवद्र्धन तथा न्यूनीकरण रोकथाम सम्बन्धी आधारभूत सेवाहरु उपलब्ध गराउनुपर्ने प्रावधान छ। 

यी सबै सेवा उपलब्ध गराउनका लागि बहिरङ्ग विभाग, प्रसुति केन्द्र, आवासगृह (दुई एकाइवाला), शौचालय ब्लक र बहुउद्देशीय कक्ष हुनुपर्ने स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माण सम्बन्धी निर्देशिकामा उल्लेख छ। 

अर्नाहा स्वास्थ्य चौकीमा आधारभूत आवश्यकताभित्र पर्ने खानेपानी र शौचालयको समेत सुविधा छैन। आफ्नै स्वास्थ्य चौकी नहुँदा नजिकै रहेको विद्यालयमा गएर शौच गर्ने गरिएको अहेव साह बताउँछन्। खानेपानीका लागि कहिले आफैँ किनेर त कहिले नजिकैको घरमा गएर खाने गरिएको उनले बताए। स्वास्थ्यकर्मी मात्र नभई उपचारका लागि जाने बिरामी समेत शौचालय नहुँदा समस्या हुने गरेको गुनासो गर्छन्। 

अर्नाहाकी उर्मिला देवी भन्छिन्, ‘यहाँ एउटा चर्पी पनि छैन। उपचारका लागि आउँदा समस्या हुन्छ।’

स्वास्थ्य चौकी नजिकै घर भएका बिकाउराम सामान्य औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको गुनासो गर्छन्। ठूलो बिरामी परे जनकपुर, काठमाडौं या भारत नै जाने गरेको उनले बताए। 

यो स्वास्थ्य चौकीमा दैनिक १० जना बिरामी उपचारका लागि पुग्छन्। रुघाखोकी र झाडपखालाको समस्या लिएर आउने गरेको उनले अहेव साहले जानकारी दिए। अर्नाहा स्वास्थ्य चौकीमा अहेव दुई, सिए अहेव एक (पाँचौ) सिए अहेव एक (छैठौँ) र एक जना कार्यालय सहयोगी गरी पाँच जना जनशक्ति छन्। 

No description available.

No description available.

No description available.

No description available.