काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । लामिछानेको नागरिकता विवादको विषयमा काठमाण्डौ प्रहरी परिसरले अनुसन्धान शुरू गरेको हो।
अध्यक्ष लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरी चुनावमा भाग लिएको भन्दै गृह मन्त्रालयमा निवेदन ९उजुरी० परेको थियो। गृहले उक्त निवेदन काठमाण्डौ जिल्ला प्रशासन कार्यालय मार्फत अनुसन्धानका लागि पठाएको जनाइएको छ ।
सन् २०१४ मा लामिछाने अमेरिकी नागरिकता लिएका थिए । त्यसपछि सन् २०१८ मा उनले अमेरिकी नागरिकता र राहदानी त्यागेको भन्दै अध्यागमन विभागमा निवेदन दिएका थिए । तर, लामिछानेले पुरानै नागरिकता प्रयोग गरेको खुलेको छ ।
यसबारे निर्वाचन आयोगमा समेत उजुरी परेको थियो। आयोग उनलाई यसबारे स्पष्टिकरण दिन निर्देशन दिएपछि लामिछानेले स्पष्टिकरण बुझाएका थिए । तर, चुनावको नतिजा आइसकेको भन्दै आयोगले छानबिन नगर्ने निश्कर्ष निकालेको थियो ।