मंसिर १७, २०७९ शनिबार

बझाङका ग्रामीण बस्तीहरुमा अहिले पनि विद्युत सेवा सञ्चालन हुन सकेको छैन । गाउँमा विद्युत सेवा सञ्चालन नहुँदा ग्रामीण बस्तीका नागरिकको उज्यालोको सहारा टुकी र झरो मात्र बन्ने गरेको हाे ।

बझाङको मस्टा गाउँपालिका रनाडाका स्थानीयको विद्युत बाल्ने आसा निरासामा परिणत हुँदै जान थालेको छ । २०६५ सालमा चार महिना मात्रै विद्युत बाल्न पाएका यहाँका स्थानीय बासीन्दाले अहिले पनि झरो र टुकीकै भर पर्नु परेको छ । गाँउमा विद्युतका पोलहरु र तारहरु अहिले पनि यथावत नै छन् ।


विद्युतका तार र पोलहरु स्थानीयले कपडा सुकाउन न प्रयोग गर्ने गरेका छन् । इन्टरनेटको जमनामा पनि विद्युत बाल्न नपाउदा सञ्चार, ईमेल ईन्टरनेटबाट वन्चित बन्नुका साथै जनप्रतिनिधिहरुले दशैंभित्र बत्ती बाल्ने योजना गरेका भएपनि त्यो काम सफल हुन नसकेको स्थानीय जगदिश भण्डारीले बताउनुभयो ।

पालगाडबाट २०६५ सालमा नेपाल उर्जाको लाखौं रूपैयाँको लगानीमा २२ किलोवाट क्षमताको भौराणिछडा लघु जलविद्युत योजना निर्माण गरी संचालनमा ल्याएको थियो । विद्युत संचालन भएको केही समय नपुग्दै पालगाडले कटान गर्दै नहर भत्काएपछि विद्युत सेवा बन्द भएको हो । विद्यालयमा कम्प्युटर जडान गरिएका छन् ।

गाउँमा मिल समेत संचालनमा आएका थिए । विद्युत नभएका कारण विद्यालयमा रहेका कम्प्युटर र स्थानीयले खोलेका मिलहरु पनि बन्द भएका छन् । विद्यार्थीहरुले टुकी र झरोको भरमा अध्यन गर्नुपर्ने बाध्यता ज्युँकात्यूँ छ । स्थानीयबासीन्दा टेलिफोन सेवाबाट पनि वन्चित हुनु परेको बताउदै स्थानीय शिक्षक महेन्द्रबहादुर सिंहले विद्युत बाल्नमा स्थानीय सरकार वा प्रदेश सरकार संघीय सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

मस्टा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले आफूहरु निर्वाचित भइसकेपछि पालिकाले ‘अध्यारा गाउँ उज्यालो बनाउँ’ भन्ने लक्ष्य राखेकाले राष्ट्रिय प्रसारण लाईन जोड्नका लागि डीपीआर तयार पारी पालिकाका गाउँ-गाउँलाई उज्यालो बनाउनका लागि उर्जा मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म फाइल पुगिसके पनि काम नभएको बताउनुभयो । यसै वर्षभित्र विद्युत विस्तार गर्ने गरी आफूहरु लागि परेको उहाँको भनाइ छ ।

यो समस्या एउटै गाँउको मात्रै नभई रनाडा र दय लगायत दुर्गम बस्तीका सबै गाउँको रहेको छ । स्थानीय सरकारले गाउँ गाउँमा राष्ट्रिय प्रसारणलाई विस्ताका लागि खासै पहल गरेको पाइदैन यसतर्फ पहिला स्थानीय सरकारको ध्यान जान जरुरी छ ।