काठमाडौं । गोकर्णेश्वर नगरपालिका ५ जोरपाटीमा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको ऋण जनप्रतिनिधि, पूर्वसञ्चालक, पूर्वकर्मचारीले समयमै नतिर्दा बचतकर्ता समस्यामा परेका छन् ।
नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष नवराज लामा सहकारीको सचिव भएका बेला विसं २०६९ असोज १६ मा श्रीमती राधा राईका नाममा रु १६ लाख ३० हजार दुई सय ८६ ऋण लिनुभएको थियो । लामाले लिएको ऋणको अवधि विसं २०७० असोज १५ मा सकिए पनि अझैसम्म ऋण तिर्नुभएको छैन । लामा विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो ।
यसबारे ऋणी लामाकी श्रीमती राईलाई सम्पर्क गर्दा श्रीमानसँग नै यस विषयमा कुरा गर्नुपर्ने बताउनुभयो । राईले दिनुभएको नम्बरमा पटक–पटक लामासँग प्रतिक्रियका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
मञ्जुश्री सहकारीको ऋण नतिर्ने लामा एक्ला जनप्रतिनिधि भने हुनुुहुन्न । नगरपालिकाको वडा नं ५ का वडा सदस्य श्रीबहादुर योगीले पनि उक्त सहकारीको ऋण तिर्नुभएको छैन । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदमा निर्वाचित हुनुभएका योगीले २०७६ असार ३१ गते रु एक लाख ८१ हजार चार सय १६ ऋण लिनुभएको थियो ।
योगीले सहकारीलाई ऋण चुक्ता गर्नुपर्ने मिति २०७६ पुस २८ गते नै समाप्त भइसकेको छ । लामा र योगीलाई पटक–पटक पत्र काट्दा पनि ऋण नतिरेको सहकारीका प्रशासन प्रमुख विजय तामाङले गुनासो गर्नुभयो ।
“जनप्रतिनिधिले नै सहकारीको ऋण नतिरेपछि अरुले दिन मानिरहेका छ्र्रैनन्, सहकारीका बचतकर्ता भने कार्यालयमै आएर धर्ना दिन थालेका छन्, बचतकर्ताको पैसा खाएर भाग्ने हाम्रो नियत छैन”, उहाँले भन्नुभयो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ५ का अध्यक्ष राजु रायमाझीले पनि सहकारीसँग लिएको ऋण नतिरेको अभिलेख देखिन्छ । रायमाझीले विसं २०७२ भदौ १६ गते रु तीन लाख २० हजार चार सय ९० ऋण लिनुभएको थियो । रायमाझी पनि २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
ऋण तिर्न रायमाझी, योगी र लामालाई पटकपटक पत्राचार गरेको सहकारीको अभिलेखमा उल्लेख छ । तीनै जना जनप्रतिनिधिसँग प्रतिक्रियाका लागि पटक–पटक सम्पर्क गर्दा पनि उहाँहरु सम्पर्कमा आउन चाहनुभएन ।