कुखुराको भाले जब बास्न थाल्छ तब उठ्ने समय हुन्छ। तर सबैलाई कुखुरी काँको आवाजसँगै उठ्ने मौका मिल्दैन। कतिपयलाई कुखुराको आवाज नै मन नपर्न पनि सक्छ। छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ। मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीलाई गुहारेका छन्।
पेसाले चिकित्सक रहेका ती व्यक्ति छिमेकीको कुखुराको आवाजले निकै बेखुसी थिए। त्यसैले उनले छिमेकीको कुखुराको आवाज बन्द गराउन माग गर्दै प्रहरीमा निवेदन दिएका छन्। अनौठो निवेदन प्राप्त भएपछि प्रहरीले दुवै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने बताएको छ। यदि त्यसो गर्दा पनि समस्या समाधान नभएमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ।
स्थानीय पलासिया प्रहरी चौकी प्रमुखका अनुसार छिमेकीको कुखुरा विरुद्ध उजुरी दिने चिकित्सकको नाम आलोक मोदी हो। उनी पलासिया क्षेत्रको ग्रेटर कैलाश अस्पताल नजिकै बस्छन्। उनको निवेदनअनुसार छिमेकी एक महिलाले घरमा धेरै कुखुरा पालेकी छन्। हरेक बिहान उनको घरका कुखुराहरु चर्को आवाजमा चिच्याउने र त्यो आवाजले आफूलाई धेरै नै बाधा पारेको उनको जिकिर छ।
कामको व्यस्तताले रात अबेर घर आउने र बिहान निद्रामै रहेको बेला कुखुराको चर्को आवाजले समस्यामा पार्ने उनले बताएका छन्।