परापूर्वकालमा दमाइँ जातिको बसोबास भएकै कारण दमाइँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट दगाम गाउँ बनेको तनहुँको शुक्लागण्डकी वडा नम्बर २ का स्थानीयवासी बताउँछन् ।
प्राचीन समयमा दमाइँ जातिकै बसेबास भए पनि अहिले भने यहाँ दमाइँ जातिको बसोबास नभई मगर जातिको बसोबास रहेको स्थानीय समाजसेवी तीलबहादुर थापा मगर बताउँछन् । समयले लामै कोल्टै फेर्दा अहिले भने दगाम गाउँको परिचय फेरिएको छ ।
यहाँका प्रत्येक घरमा भएको मौरीपालनले यो गाउँ यतिखेर मह गाउँका रुपमा चिनिन थालेको छ । गाउँलेले बर्सेनि मह उत्पादन गरी आयआर्जन बढाउन थालेका छन् ।
दगामका केही स्थानीयले व्यावसायिक मौरीपालनबाटै राम्रो आम्दानी लिन थालेपछि यसतर्फको आकर्षण बर्सेनि बढ्दै गएको हो । दगामका २३ घरका सबैले मौरी पालेका छन् ।
मह उत्पादन बढ्दै गएकाले मौरीपालन व्यवसाय सुरु गरेको अगुवा कृषक नन्दराज थापाले बताए । २०५७ सालमा घरेलु तथा साना उद्योग तनहुँले मौरीपालनसम्बन्धी तालिम दिएपछि गाउँमा मौरीपालन प्रति गाउँलेको रुचि बढेको उनको भनाइ छ ।
पछिल्लो समय दगाम गाउँ मह उत्पादनका लागि अब्बल देखिएकाले मौरीपालन व्यवसायलाई विस्तर गर्ने स्थानीयको लक्ष्य छ । सरकारी पक्षबाट अझै सहयोग र अनुदान आए दगाम गाउँलाई मह गाउँका रुपमा चिनाउने गरी व्यवसाय विस्तार गर्ने थापाले बताइन् ।