मंसिर २०, २०७९ मंगलबार

दक्षिण एसियामा भारतपछि नेपालका प्रतिनिधिले मात्रै विश्वभरका डलर अर्बपतिहरूको सूचीमा आफ्नो नाम लेखाएका छन् । उक्त सूचीमा नाम भएका नेपाली डलर अर्बपति हुन् विनोद चौधरी । चौधरी मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा नवलपरासी १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा विजयी भएपछि राजनीतिक वृत्तमा उनको चर्चा चुलिएको छ । त्यसो त सांसदको भूमिकामा अघिल्लो संसदमा नै आफ्नो जोडदार उपस्थिति उनले देखाइसकेका छन् ।

पहिलो पटक संसदीय निर्वाचन लडेर जनताबाट विश्वासको मतसहित अनुमोदित भइसक्दा नवलपरासी १ को मात्रै होइन देशभरका जनताको नजर यतिवेला चौधरीमाथि छ । कमजोर अर्थतन्त्रले गाँजिएको देशको सर्वाधिक ठूलो व्यापारिक घराना चौधरी ग्रुपलाई प्रतिनिधित्व गर्ने विनोद चौधरीको संसदीय यात्राले देशलाई आर्थिक रूपमा नयाँ खुट्किलो दिन ठूलो भूमिका खेल्ने अर्थविद्हरूसमेत बताउँछन् ।

 

संसदमा चौधरीले देखाउने उपस्थिति अर्थतन्त्र सुधारको सवालमा कोशेढुङ्गा सावित हुने विश्वास आम जनतादेखि ‘व्यवसायिक वृत्त’मा जोडिएका सबैमा देखिन्छ । तर, सांसदमात्रै रहेर उनले कस्तो प्रस्तुति दिन्छन् या अब बन्ने सरकारमा कार्यकारी भूमिकामा रहेर आफ्नो दक्षता र अनुभवलाई राष्ट्र विकासको बाटोमा कसरी प्रयोग गर्छन् भनेर उनीमाथि ‘पर्ख र हेर’को रणनीति लिएर बस्नेहरूको जमात पनि ठूलो छ ।

 

संसदमा चौधरीले देखाउने उपस्थिति अर्थतन्त्र सुधारको सवालमा कोशेढुङ्गा सावित हुने विश्वास आम जनतादेखि ‘व्यवसायिक वृत्त’मा जोडिएका सबैमा देखिन्छ ।

चौधरीको संसद यात्रा
संसदीय राजनीतिमा प्रत्यक्ष निर्वाचन पहिलोपटक लडे पनि चौधरी नयाँ खेलाडी भने पक्कै होइनन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वाचित चौधरीले यसअघि समानुपातिकबाट संसदमा उपस्थिति जनाएका थिए । नेपालको अर्थतन्त्र, विकास, उद्यमशीलता र रोजगार प्रवर्द्धनलगायतका विषयमा संसदमा चौधरीले आवाज उठाएकै थिए । यद्यपि गठबन्धनको तालमेल र कांग्रेसको निर्णयका कारण अन्तिम समयमा उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने ।

कांग्रेसले संसदीय प्रतिस्पर्धामा निरन्तर हार व्यहोर्दै आएको सो क्षेत्रमा संसदीय राजनीतिका मसिहा मानिने हृदयेश त्रिपाठीसँगको प्रतिस्पर्धा चानचुने थिएन । स्थानीय जनताको समस्याको पहिचान गर्दै समाधानका एजेण्डा बोकेर नवलपरासीका गाउँगाउँ, गल्ली(गल्ली पुगे । त्यसो त गृह जिल्लामा समय(समयमा पुग्ने र स्थानीय समस्याहरुमा केन्द्रित हुने, जनजीविकाका सवालमा गम्भीर चासो दिने कार्यमा चौधरी यसअघि पनि सक्रिय नै थिए । पुरानो उपस्थितिले सहज त बनायो नै ।

तर, निर्वाचनको क्रममा प्रतिस्पर्धीलाई पछि पार्न, प्रतिस्पर्धीले भन्दा राम्रा एजेण्डा जनतामा पुर्‍याउन र समाधान केन्द्रित मुद्दामा पुग्न निर्वाचनका दौरान सामान्य दौडधुपले नपुग्ने विषयमा चौधरी जानकार थिए ।

चौधरीले सामान्य परिवारसँग खाना खाएको, सँगै रात कटाएको, सामान्यभन्दा सामान्य समस्या केन्द्रित भएर जनताका गुनासाहरू सुनिरहेका समाचार मिडियाहरूमा बर्गेल्ती आए । नआउने कुरा पनि थिएन । किनकि आर्थिक हिसाबले देशकै सर्वसम्पन्न एक व्यक्ति विकास र समुन्नतिको सपना बोकेर क्षेत्रको माटोसँग खेलिरहेको थियो । गफ दिने र काम नगर्ने नेताबाट आजित भएका जनता चौधरीको आगमनले आफ्नो टोलको, गाउँको अनि क्षेत्रको विकासले काँचुली फेर्ने विश्वाससहित निर्वाचनपूर्व नै परिणामको आंकलन गरेर खुशी साट्दै थिए ।

चौधरीको प्रतिस्पर्धा सहज थिएन । दशकौंदेखि उक्त क्षेत्रमा राजनीतिक पकड जमाएर बसेका हृदयेश त्रिपाठीलाई ढाल्नु ‘फलामको च्यूरा चपाएसरह’ हुने राजनीतिक अनुमान धेरैको थियो ।

 

चौधरीको प्रतिस्पर्धा सहज थिएन । दशकौंदेखि उक्त क्षेत्रमा राजनीतिक पकड जमाएर बसेका हृदयेश त्रिपाठीलाई ढाल्नु ‘फलामको च्यूरा चपाएसरह’ हुने राजनीतिक अनुमान धेरैको थियो । हम्मे हम्मे हुने अनुमान राजनीतिक वृत्तमा थियो । तर, जनताको विश्वास र भरोसाको अघि चौधरीलाई रोक्ने सामथ्र्य कसैमा रहेन ।

 

 

‘म २०४८ सालमा जन्मिएँ । तर, म जन्मिनुपूर्व नै मेरो ठाउँमा हृदयेशको राज थियो, हालसम्म पनि उस्तै लाग्ने, अर्को नेता नजन्मिँदा स्थानीय निराश थिए, यो पटक विनोद चौधरीको उपस्थितिले साँच्चै नै स्थानीयमा विकासको सञ्चार गराइसकेको थियो, हामी नयाँ नेताको खोजीमा थियौं, उनको आगमनले निर्वाचन नहुँदै परिणाम आंकलन गर्ने र खुशी साट्ने माहोल बनिसकेको थियो’, स्थानीय गोपीकृष्ण चापागाईं बताउँछन् । चापागाईं प्रतिनिधि पात्रमात्रै हुन् । तर, उनका शब्दले नै चौधरीप्रति स्थानीयले देखाएको विश्वास र सपनाको समग्र प्रतिनिधित्व गरेको छुप्दैन ।

विकासको लागि आफ्नो जीत आवश्यक रहेको बताउँदै चौधरीले मत मागिरहँदा सबैभन्दा बढी मारमा पर्दै आएका सुस्ता बाढी प्रभावितहरू र स्थानीय किसानहरू आफ्नो समस्याको समाधानको प्रतिबद्धता पाउँदा उत्तिकै उत्साहित थिए । परिणाम नवलपरासी १ का स्थानीय मतदाताले भने झैं पूर्वनिर्धारित थियो । अन्ततः सात हजार बढी मतले हृदयेशलाई पछि पार्दै चौधरी निर्वाचित भए । गठबन्धनको अन्योल, पार्टीभित्रको अन्तरघात र नयाँ राजनीतिक मैदानबाट पनि चौधरीले जनमतको परीक्षा पास गरे । सो क्षेत्रका झण्डै ३० हजार जनताले प्रत्यक्ष मत दिएर उनलाई प्रतिनिधिसभामा पठाएका छन् । जनताको यो अनुमोदनका पछाडि चौधरीलाई २७५ सांसदमध्ये एक सांसद बनाउनेमात्रै नभएर मुलुककै कार्यकारी नेतृत्वमा पुर्‍याउने चाहना प्रस्ट देखिन्छ ।

निर्वाचित भएसँगै जनताको जीवनस्तर उकास्न इमानदारीका साथ सेवामा खटिने प्रतिबद्धता उनले व्यक्त गरिसकेका छन् । ‘चुनावको समयमा मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न इमानदार भएर लाग्नेछु । ती प्रतिबद्धतालाई केवल चुनावी प्रतिबद्धतामा मात्रै सीमित हुन दिन्न’, चौधरीले विजयी भइसकेपछिको पहिलो सम्बोधनका क्रममा भनेका छन्, ‘जनताको जीवनस्तर उकास्न इमानदारीका साथ सेवामा खट्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

जनताको यो अनुमोदनका पछाडि चौधरीलाई २७५ सांसदमध्ये एक सांसद बनाउनेमात्रै नभएर मुलुककै कार्यकारी नेतृत्वमा पुर्‍याउने चाहना प्रस्ट देखिन्छ ।

सुरुमै उनले क्षेत्रको गरिबी निर्मूल पार्न सबैसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचित हुनुअघि नै आफ्नो क्षेत्रमा उनले पोलिटेक्निक कलेज र केरामा आधारित उद्योग स्थापना गरिसकेका छन् । आफ्नो निर्वाचन क्षेत्रमात्रै नभएर देशभरको विकासको चाहना सम्बोधन गर्न उनको सिंहदरबारको यात्रा जरुरी छ ।

भावी अर्थमन्त्रीमा चौधरीको चर्चा
निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ भने समानुपातिकतर्फको अन्तिम मत परिणाम आउने क्रममा छ । यो बीचमा चौधरीले प्रतिनिधित्व गर्ने पार्टी नेपाली कांग्रेस सबैभन्दा बढी मतसहित जनताबाट अनुमोदित भएको छ । पहिलो शक्ति बनेकै कारण आगामी सरकारमा आफ्नो नेतृत्व दाबीसहित नेपाली कांग्रेसका शीर्ष नेताहरू सरकार निर्माणको लागि दौडधुपमा छन् ।

भावी सरकारको नेतृत्व कसले गर्ने भन्ने बहस चलिरहँदा आधा दर्जन बढी आकांक्षी कांग्रेसभित्र तयार छन् । जुन पछिल्लो समय मिडियामा समाचारका हेडलाइन बनिरहेका छन् । तर, सोही सरकारको सशक्त पद अर्थमन्त्री को बन्ने भन्ने सवालको केन्द्रमा भने यतिवेला उनै विनोद चौधरी छन् । नेपालको आर्थिक सुधारका लागि अब अनुकूल वातावरण बनेको बताउँदै आएका चौधरी अर्थ मन्त्रालय सम्हाल्ने उद्देश्यसहित २०४६ सालपछि अंगालिएको आर्थिक उदारीकरणको बाँकी काम पूरा गर्ने समय आएको बताउँछन् ।

‘राजनीतिक अस्थिरता, हरेक वर्ष बदलिने सरकारले नेपाली अर्थतन्त्रलाई अघि बढ्न दिएन, यही दौरान १२ वर्षको द्वन्द्व झेल्नुपर्‍यो, अब दोस्रो चरणको सुधार थालौं’, चौधरीले पटक पटक भन्दै आएका छन् । त्यसको केन्द्रमा आफूलाई राखेर देशलाई समुन्नतिको बाटोमा अघि बढाउँदै दक्षिण एसियाको सबैभन्दा आकर्षक लगानीयोग्य देश नेपाल हो भनेर चिनाउन सकिने भिजन चौधरीले अघि सारेका छन् ।

कार्यकारी भूमिकामा रहन पाएको खण्डमा विश्वका उत्कृष्ट स्वास्थ्य र शिक्षाको लगानी नेपाल भित्र्याउन सकिने दाबी उनले पटक पटक गर्दै आएका छन् । उनकै यी र यस्तै भिजनका कारण अर्थ क्षेत्रका जानकारहरू एकपटक चौधरीको हातमा अर्थ मन्त्रालयको साँचो सुम्पिएर हेर्न राजनीतिक दलहरूलाई सुझाव दिइरहेका छन् ।

कार्यकारी भूमिकामा रहन पाएको खण्डमा विश्वका उत्कृष्ट स्वास्थ्य र शिक्षाको लगानी नेपाल भित्र्याउन सकिने दाबी उनले पटक पटक गर्दै आएका छन् । उनकै यी र यस्तै भिजनका कारण अर्थ क्षेत्रका जानकारहरू एकपटक चौधरीको हातमा अर्थ मन्त्रालयको साँचो सुम्पिएर हेर्न राजनीतिक दलहरूलाई सुझाव दिइरहेका छन् । एक वर्षमा भारत र चीनका मात्रै ५० लाख मानिसलाई नेपाल भ्रमण गराउने लक्ष्य राखे वार्षिक ४ लाख युवाले रोजगारी पाउने भन्दै उनले विदेशिने युवालाई स्वदेशमै रोक्न सकिने भनी दिएको अभिव्यक्तिले निर्वाचनपूर्व नै चर्चा पाएको थियो । त्यसको लागि पहलकदमी लिन चौधरीलाई धेरैतर्फबाट आग्रह आएको थियो । अब भने कार्यकारी भूमिका लिएरै सपना साकार पार्ने बाटोमा एक पाइला अघि बढिसकेका उनलाई कांग्रेस नेतृत्वले विश्वासमा लिँदै जिम्मेवारी दिनुपर्नेछ ।

सम्भावनाको अभावमा दैनिक रूपमा विदेशिने हजारौं युवाहरुलाई देशमै रोजगारीसहितको आशाको सञ्चार गराएका चौधरीले अर्थतन्त्रको साँचो आफ्नो हातमा पाउँदा राष्ट्र हित अनुकूल हुने नै देखिन्छ । व्यवसायिक पृष्ठभूमिका कारण हुनसक्ने ‘स्वार्थको द्वन्द्व’ बारे चौधरी आफंै पनि प्रस्ट भने हुनुपर्छ । त्यसो त संसदमा निर्वाचित दुईतिहाइभन्दा बढी नेताहरुको कुनै न कुनै व्यवसायिक आवद्धता वा निकटता रहेको प्रस्ट नै छ । यद्यपि अर्थ मन्त्रालयको नेतृत्वका लागि तयार देखिएका चौधरीले आफ्नो कामबाटै यस्ता सन्दर्भहरुको जवाफ दिनुपर्ने हुन्छ ।

नेपाली कांग्रेसले लिएको खुला बजार नीतिकै कारण विनोद चौधरीको व्यवसायिक सफलता सम्भव भएको हो । यही नीतिभित्र सयौं विनोद चौधरीहरुको उदय सम्भव छ । त्यसका लागि नयाँ सरकार निर्माणको चरणमा रहेका दल र शीर्ष नेताहरुले उपयुक्त र न्यायोचित निर्णय लेख्दै चौधरीलाई जिम्मेवारी दिन जरुरी देखिन्छ ।

लेखक बैकुण्ठराज पराजुली नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष हुन् ।