एजेन्सी : युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब चेल्सीले बराबरी खेलेका छन् ।
मङ्गलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा रियल र चेल्सीले १-१ गोलको बराबरी खेलेका हुन् ।
रियलको घरेलु मैदान स्टेडियो डी अल्फ्रेडोमा भएको खेलमा घरेलु टोलीका लागि करिम बेन्जेमाले गोल गरे भने चेल्सीका क्रिस्टियन पुलिसिकले एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने पाहुना टोली चेल्सीले बनाएको थियो । उसका लागि जारी खेलको १४औँ मिनेटमा पुलिसिकले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर खेलको २९औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा फर्काए । त्यसपछि बाँकी समय थप गोल नहुँदा पहिलो लेग खेल बराबरीमा रोकियो । अब, दोस्रो लेगको खेल ५ मेमा चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ ।