स्थायी लेखा नम्बर लिएका करदातालाई निर्धारित समयसीमाभित्रै कर दाखिला गर्न आग्रह गरिएको छ ।
स्थानीयस्तरमै करदातालाई प्रशिक्षण दिई समयमै कर असूली गराउने उद्देश्यले आन्तरिक राजस्व कार्यालय बालाजुद्वारा आयोजित कर प्रशिक्षण कार्यक्रममा अनुरोध गरिएको हो ।
रसुवामा स्थायी लेखा नम्बर लिएपछि विवरण नबुझाइ तोकिएको शुल्क समेत नतिर्ने बढ्न थालेको जनाउँदै त्यस्ता कार्यलाई निरुत्साहित गराउन मंगलवार कार्यालयले करदाता शिक्षा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा रसुवा उद्योग वाणिज्य संघका अध्यक्ष सुप्साङ तामाङ र चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले राज्यलाई तिर्नुपर्ने कर दस्तुर समयमै तिर्न स्थानीय व्यापारी व्यवसायीलाई जागरुक गराउने कार्यमा सहयोग गर्ने बताए ।
सो अवसरमा सामाजिक संघसंस्था एवं गैरसरकारी संस्थाले किसानलाई पशुपालन, तरकारी खेती, साना घरेलु उद्योगजस्ता कार्यलाई अनुदान दिने बहानामा स्थायी लेखा नम्बर बनाउन लगाई बेवस्ता गरेको सहभागीले गुनासो गरेका थिए ।
स्थायी लेखा नम्बर प्राप्त गर्ने अधिकांश करदाताले अनुदान समेत नपाएको र प्रयोगविहीन भइरहेको जनाएका थिए । स्थायी लेखा नम्बर आन्तरिक राजस्व कार्यालयद्वारा करदाता शिक्षाको प्राप्त ज्ञानले भावी दिनमा खारेज वा उपयोग गर्ने भन्ने विषयमा जागरण बढेको समेत सहभागीहरूले बताएका छन् ।