काठमाडौं । आइएयु सिम्पोजियम ३७५ ‘द मल्टी मेसेन्जर चक्र अफ ब्लाजार जेट्स’ काठमाडौंमा सुरु भएको छ । अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयु)ले पहिलोपटक नेपालमा आयोजना गरेको पाँचदिने अन्तर्राष्ट्रिय गोष्ठी मंसिर २३ गतेसम्म चल्नेछ । आयोजकका अनुसार गोष्ठीमा नेपाल, भारत, चीन, अमेरिका, रुस, जर्मनी र बेलायतलगायत विभिन्न देशका ३० जना आमन्त्रित वक्ता र सयभन्दा बढी सहभागी छन् । अधिकांश सहभागी युरोप र भारत, चिली, जापान, दक्षिण कोरियालगायत २० भन्दा माथि देशबाट आएका छन् । गोष्ठीमा ‘ब्लाजार जेट’ सम्बन्धी ८० भन्दा बढी पछिल्ला अनुसन्धानको कार्यपत्र प्रस्तुत हुनेछन् । गोष्ठी विशेषगरी ब्रहृमाण्डमा भएका चाखलाग्दा उज्यालो वस्तु ‘ब्लाजार जेट’ मा केन्द्रित रहने बताइएको छ ।
आइएयुएस ३७५ का संयोजक यानिस लियोडाकिसले भन्नुभयो, ‘गोष्ठीको लक्ष्य सहभागीलाई ब्रिजिङ गर्ने तथा पछिल्लो अनुसन्धानबाट आएका ज्ञान संक्षेपमा प्रस्तुत गर्ने हाम्रो आशा छ, गोष्ठीबाट प्राप्त ज्ञानलाई वैज्ञानिक यात्रामा लागू गर्न मद्दत मिल्नेछ ।’ अर्को भनेको खगोलीय विज्ञान विकासोन्मुख देशमा प्रवद्र्धन गर्नु हुनेछ ।
आमन्त्रित मुख्य वक्ता एन्थोनी रीडहेडले ‘ब्लाजार विज्ञानको अवलोकन’ र खगोल विज्ञानमा चक्रको एक सिंहावलोकनसम्बन्धी भर्चुअल प्रस्तुति दिँदै हिन्दू तथा ग्रीक दर्शनमा रहेका चक्रजस्तै देखिने बताउनुभयो । तथापि आधुनिक खगोल विज्ञानमा ब्लाजारहरू भनेको अवलोकनकर्ताको दृष्टि नजिक सक्रिय ‘ग्यालेक्टिक न्युक्ली’ मानिन्छ ।
‘आइएयुएस ३७५’ लाई स्थानीय आयोजक नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोले व्यवस्थापन गरेको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी, नासोका कार्यक्रम संयोजकसमेत रहनुभएकी गोष्ठी स्थानीय आयोजक समिति सदस्य मनिषा द्वाले नेपालमा गोष्ठी पूर्णरूपमा सफल बनाउन लागिपरेको बताउनुभयो । द्वाका अनुसार गोष्ठीसँगै ¥याडएडहोम, विद्यालयका विद्यार्थीका लागि खगोल विज्ञान कार्यशाला, कक्षाकोठामा ब्याजार र ब्ल्याक होलबारेमा कसरी सिकाउने भन्ने विषयमा विज्ञान शिक्षक कार्यशाला आयोजना गरिनेछ ।
त्यस्तै, १२ देखि १४ वर्ष उमेर समूहका सामुदायिक विद्यालयका विद्यार्थीसँग उपत्यकाका केही विद्यालय भ्रमण तथा अन्तरक्रिया कार्यक्रम रहेका छन् ।