चौतारा : सिन्धुपाल्चोकका पहिरो प्रभावित लिदीवासीलाई सभामुख अग्निप्रसाद सापकोटाले बर्खाअघि नै अस्थायी टहरो बनाइदिने आश्वासन दिएका छन् ।
पटक–पटक पहिरोपीडित भेट्न गए पनि सभामुख सापकोटाले के गर्ने भनेर खास निर्णय दिन सकेका छैनन् । टेन्टमा बसिरहेका पीडितलाई उनले बर्खाअघि अस्थायी टहरो बनाइदिने आश्वासन भने दिएका छन् ।
पहिरोपीडितलाई आश्वासन दिँदै उनले भने, ‘तपाईंहरू नआत्तिनुहोस् बर्खाअघि नै अस्थायी टहरो बनाइनेछ ।’ स्थायी संरचना बनाउन आउँदो आर्थिक वर्ष कुर्नुपर्ने भएकाले यसपालिको बर्खा कटाउन अस्थायी टहरो बनाउनुपर्ने अवस्था आएको हो । अस्थायी टहरो निर्माणका लागि राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणसँग हामीले पहल गर्ने छौँ ।
गत वर्ष साउन ३० गते गाउँमाथिबाट झरेको पहिरोले ३० घर पुरिए । लिदीवासी ३९ जनाको ज्यान लियो ।घरमा भएको अन्नपात र वस्तुभाउ छोडेर ज्यान जोगाउन लिदीवासी बाँसखर्क बसाइँ सरे । पहिरोपीडितलाई सरकारी र अन्य निकायबाट धेरै राहत सामग्री वितरण गरियो । तर, वर्ष दिन हुन लाग्यो बसोवासको कुनै टुंगो छैन । सहयोगी हातले पीडितको नाममा दिएको ४० लाखभन्दा बढी रकम पालिकाको खातामा जम्मा भएको छ । त्यसउपर गाउँपालिकाले कुनै निर्णय लिन सकेकाे छैन ।
टेन्टमा बसिरहेका पहिरोपीडितका लागि वडाले राखेको भण्डारमा ३० बोरा चामल मात्रै मौज्दात छ । दाल, तेल, चिनी र अन्य सामग्री सकिएको वडाध्यक्ष लामाले बताए । सभामुख, स्थानीय सरकार र जिल्लास्थित सरकारी निकायले संयुक्त रूपमा बाढीपहिरोपीडितको व्यवस्थापनका लागि धेरैपटक छलफल गरेका छन् । तर, हालसम्म कुनै ठोस ठोस कदम चालिएको छैन । लिदी मात्रै होइन बाह्रबिसेको जम्बु, नागपुजे र भोटेकोसीका पीडितका लागि पनि ठोस कदम चालिएको छैन ।