एजेन्सी : युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा साविको उपविजेता तथा फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन (पिएसजी) सेमिफाइनलको पहिलो लेगको खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीसँग घरेलु मैदानमै पराजित भएको छ ।
बिहिवार बिहान सम्पन्न खेलमा पाहुना टोली सिटीले घरेलु टोली पिएसजीमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो । सिटीको जितमा केभिन डी ब्रुएन र रियाद माहरेजले समान १/१ गोल गरे । यता पिएसजीको लागि मार्किन्हसले १ गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली पिएसजीले बनाएको थियोे । जारी खेलको १५ औं मिनेटमा एन्जल डी मारियाको कर्नरमा मार्किन्हसले हेडरमार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफभरि १-० गोलले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा २-१ गोलको रोमाञ्चक जित निकाल्यो ।
सिटीका लागि दोस्रो हाफको खेलको ६४ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै ७१औं मिनेटमा सिटीले अग्रता लिएको थियो । रियाद माहरेजले फ्रिकिकमा सिधै गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
त्यसपछि खेलमा ७८ औं मिनेटमा पिएसजीले एक खेलाडी पनि गुमाउन पुग्यो । मिडफिल्डर इड्रीसा गेयेले इल्काए गुन्डोगनमाथि खराब ट्याकल गरेपछि रेफ्री फेलिक्स बिर्चले सिधै रातो कार्ड देखाए पछि पिएसजी १० खेलाडीमा सिमित बनेको हो । र बाँकी समय थप गोल नहुदा सिटी २-१ गोलले विजयी भयो ।
उक्त जित सँगै सिटीले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । अब यी दुई टोलीबीचको दोस्रो लेगको खेल ५ मेमा सिटीको घरेलु मैदानमा हुनेछ ।