काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिवद्ध रहँदै आएको बताउनु भएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीउपर तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भईरहेको पनि बताउनु भयो ।
उहाँले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचारात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीतिलाई आयोगले अवलम्बन गरिरहेको स्पष्ट पार्नु भयो । भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी रहेको औंल्याउँदै प्रमुख आयुक्त राईले भ्रष्टाचारका दृष्टिले उच्च जोखिम क्षेत्रमा विशेष निगरानी बढाउने कामलाई अघि बढाइएको उल्लेख गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धिको नेपाल पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सृजित दायित्व, चुनौति र जिम्मेवारी निर्वाह गर्न विद्यमान कानुन, नीति र संरचनामा समयानुकूल सुधार र परिवर्तन गर्ने गरिएको छ । भ्रष्टाचारविरुद्धको राष्ट्रिय कानुन, नीति र रणनीतिको तर्जुमा र कार्यान्वयन मूल्यांकनका लागि भ्रष्टाचारविरुद्ध कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयात्मक प्रयत्न हुन जरुरी छ । नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न भ्रष्टाचार मुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने मूल उद्देश्यसहितको उपचारात्मक, निरोधारात्मक, प्रवद्र्धनात्मक र संस्थागत क्षमता विकासको चार खम्बे रणनीति अवलम्बन गरिएको छ । आयोगले भ्रष्टाचारविरुद्धको कार्यको अनुसन्धान र अभियोजनलाई अझै प्रभावकारी बनाउँदै जाने क्रममा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै जाने नीति अख्तियार गरेको छ । साथै भ्रष्टाचारको दृष्टिले उच्च जोखिमयुक्त क्षेत्रको विशेष निगरानी बढाउनका साथै जोखिममा आधारित अनुसन्धान पद्धति कार्यान्वयन गर्ने गरेको छ । जोखिमयुक्त क्षेत्रमा अग्रसरतापूर्वक निगरानी गरी भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान र अभियोजन गर्ने गरिएको छ । सार्वजनिक निकायहरुमा संस्थागत सदाचारिता अभिवृद्धि गर्ने र भ्रष्टाचारका उजुरी उपर तथ्य प्रमाणको आधारमा बस्तुगत दक्षतापूर्ण एवम् प्रभावकारी अनुसन्धान, अभियोजन गरी भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि आयोग प्रतिवद्ध रहँदै आएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा नेपालले गर्दै आएको प्रतिवद्धता पूरा गर्न आयोग दृढ संकल्पित रहेको व्यहोरा निवेदन गर्दछु । ’
प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको नीतिलाई व्यवहारमा उतार्ने काममा तीन वटै तहको सरकार, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।