काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी जेठ १५ अर्थात मे २९ माइराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ ।उक्त खेल नेपालले इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा खेल्नेछ ।
नेपालले अहिलेसम्म इराकसँग जम्मा ३ पटक खेलेको छ । जसमा नेपाल ३ नै खेलमा पराजित भएको थियोे ।
पछिल्लो पटक नेपालले फिफा विश्वकप छनोटमा इराकसँग सन् २००१ को अप्रिल २३ मा खेलेको थियो । जुन खेलमा नेपाल ४-२ ले पराजित भएको थियो ।
विश्वकप छनोट अन्तर्गत नै २००१ को अप्रिल १४ मा भएको खेलमा नेपाल ९-१ ले पराजित भएको थियो । त्यस्तै नेपालले पहिलो पटक एसियन गेम्समा इराकसँग खेलेको थियो । १९८२ मा भएको खेलमा नेपाल ३-० ले पराजित भएको थियो ।
विश्वकप छनोट खेलिरहेको इराकले तयारीका लागि नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको हो । जुन प्रस्ताव नेपालले स्वीकार गरेको हो । फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।