बैशाख १७, २०७८ शुक्रबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बार्सिलोना ग्रानाडासँग पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टोली बार्सिलोना पाहुना टोली सँग २-१ गोलले स्तब्ध बनेको हो । यो हार सँग उपाधि होडमा सुनौलो अवसरसामु पुगेको बार्सिलोनाको उपाधि यात्रामा निकै ठूलो धक्का लागेको छ । 

हाल ला लिगको ३३औं साताको खेलमा ग्रानाडासँग आफ्नै घरेलु मैदान क्याम्प नोउ रंगशालामा  अप्रत्यासित हार भोगेपछि बार्सिलोनाको उपाधि होडमा ठूलो धक्का मात्रै लागेको छैन् , ला लिगा उपाधि होड पनि निकै रोमाञ्चक बनेको छ । 

खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । जारी खेलको २२औं मिनेटमा कप्तान लियोनल मेस्सीले ग्रिजम्यानको पासमा सुन्दर गोल गरि बार्सिलोनालाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । 

पहिलो हाफमा १-० गोलले पछि परेको पाहुना टोली ग्रानाडाले द‍ोस्रो हाफमा शानदार पुनरागमन गर्यो । उसका लागि जारी दोस्रो हाफको खेलको ६२औ  मिनेटमा डार्विन मार्कोनोले र ७८औं मिनेटमा जर्ज मोलिना भिडालले गरि जित दिलाए ।

उक्त हार सँगै बार्सिलोना शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । उसको ३३ खेलबाट ७१ अंकसहित तेस्रो स्थानमा छ, समान अंक भएको रियल दोस्रो तथा ७३ अंकको एथ्लेटिको शीर्ष स्थानमा रहेको छ । त्यस्तै यता ग्रानाडाको भने समान खेलबाट ४५ अंक सहित आठौं स्थानमा रहेको छ ।