काठमाडौं । नेपालसँग खुला सीमा जोडिएको छिमेकी मुलुक भारत पछिल्लो केही दिनदेखि कोरोना भाइरस सङ्क्रमणका कारण नराम्ररी प्रभावित बनेको छ ।
भारतमा सारा विश्वकै ध्यान खिच्ने गरी कोरोना तीव्र रुपमा फैलिइरहेको छ । दैनिक रुपमा सङ्क्रमण पुष्टि हुने र कोरोनाका कारण मृत्युवरण गर्नेको सङ्ख्या अन्य मुलुकको भन्दा उच्च छ । अरु मुलुकमा दैनिक ५० हजार हाराहारीमा सङ्क्रमित भेटिँदा भारतमा ३ लाख ५० हजारभन्दा बढीमा कोरोना पुष्टि भइरहेको छ । केही दिनयता अनियन्त्रित रुपमा कोरोना फैलिइरहँदा भारतमाथि विश्व समुदायको सहानुभूति बढेको छ ।
केही मुलुकले कोरोनाको कठिन परिस्थितिसँग जुधिरहेको भारतलाई सहयोग गर्न थालेका छन् । कतिपयले सहयोग गर्न विश्व समुदायलाई आह्वान पनि गरिहेका छन् । नियन्त्रणका लागि गरिएका विभिन्न प्रयासहरु सफल हुन नसक्दा भारतलाई कोरोनाले गाँज्दै लगेको हो । भारत आफैले पनि कोरोनाविरुद्धको खोप उत्पादन गरेर प्रदान गरिरहेको छ । नेपालसहित विभिन्न मुलुकलाई खोप सहयोग गरिरहेको भारत अहिले आफै कोरोनाको भयावह र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिएको छ ।
खोपले प्रभावकारी काम गर्ननसक्दा कोरोना सङ्क्रमण फैलावटको अवस्था कहालीलाग्दो बनेर गएको छ । भारतका स्वास्थ्य संस्थामा उपचार गराउने ठाउँको अभाव हुन थालेको छ । कोरोना सङ्क्रमितलाई अति नै आवश्यक पर्ने अक्सिजनाको अभाव भएको छ । मृतक सङ्ख्या धेरै हुँदा शवको अन्त्येष्टि गर्न दाहसंस्कारस्थलको पनि अभाव हुन थालेको छ ।
कोरोनाका कारण मृत्यु भएमा शव व्यवस्थापन स्वास्थ्य मापदण्डको पालना गरेर र सावधानी अपनाएर गर्नुपर्ने भएकाले पनि झन् सङ्कट र तनाव उत्पन्न भएको हो । भारतमा भयानक हिसाबले कोरोना फैलिइरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । खुला सीमाका कारण जथाभावी र अवैध रुपमा हुने आवतजावतले नेपाल भारतमा फैलिएको कोरोनाको उच्च जोखिममा परेको छ ।
नेपालमा कोरोनाको दोस्रो लहर सुरु हुँदा त्यसको मुख्य कारण भारतसँगको खुला सीमालाई मानिएको छ । भारतबाट भइरहेको अनियन्त्रित आवतजावतका कारण नेपालमा कोरोना फैलिएको आशङ्का छ । नेपालमा पनि दिन प्रतिदिन कोरोना पृष्टि हुने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
सङ्क्रमितको मृत्यु भएको छ । यो सङ्ख्या विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितभन्दा धेरै हो । भारतमा हालसम्म २ लाख ८ हजार ३ सय १३ जना कोरोनाका कारण मृत्यु भइसकेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार ८ सय २९ जना नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या १ करोड ८७ लाख ५४ हजार ९ सय २५ पुगेको छ ।
सङ्क्रमितमध्ये १ करोड ५३ लाख ६९ हजार ३ सय ६२ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । ३१ लाख ७७ हजार दुई सय ५० जनाको उपचार जारी रहेकोमा ८ हजार ९ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये हालम्म विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । तर यहि हिसाबले कोरोना फैलँदै जाने हो र नियन्त्रण सम्भव भएन भने पहिलो नम्बरमा रहेको अमेरिकामा उछिनेर भारतलाई विश्वकै एक नम्बरमा आउन धेरै समय नलाग्ने विज्ञहरुले बताएका छन् ।