एजेन्सी। भारतमा जारी १४ औं संस्करणको गयराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले कलकत्ता नाईटराईडर्सलाई ७ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कलकत्ताले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १५४ रन बनाएको थियो ।
कलकत्ताका लागि ओपनर नितिश रानाले १५ रन तथा शुभमन गिलले ४३ रन बनाए भने राहुल त्रिपाठीले १९ तथा कप्तान इयोन मोर्गन र सुनील नरायनले खाता खोल्न सकेनन् । यस्तै दिनेश कार्तिकले १४ रनमा पेभेलियन फर्किए ।कलकत्ताका आन्द्रे रसेलले ४५ र प्याट कमिंसले ११ रनको योगदान गर्दा दिल्लीका लागि अक्षर पटेल र ललित यादवले समान २/२ तथा मार्कस स्टोइनिस र आभेस खानले १/१ विकेट लिए ।
अहमदावाद स्थित नरेन्द्र मोदी स्टेडियममा १५५ रनको मध्यम लक्ष्य पछ्याएको दिल्लीले १६.३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।दिल्लीका पृथ्वी शा ले ४१ बलमा विस्फोटक ८२ रन बनाए भने शिखर धबनले ४६ रनको पारी खेले। कलकत्ताका लागि भने प्याट कमिंसले ३ विकेट हात पारे ।
यस जितका क्रममा दिल्लीका ओपनर ब्याट्सम्यान पृथ्वी शाले कोलकाता नाइटराइडर्सविरुद्धको खेलमा एकै ओभरमा ६ चौका प्रहार गरेका छन ।
योसँगै दिल्ली आइपीएलको दोस्रो स्थानमा उक्लिएको छ ।