काठमाडैं । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहा सहित वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ जनागरी थप ४ जना कोरोना सङ्क्रमितको बीरगंजमा मृत्यु भएको छ ।
विगत एक सातादेखि कोरोना संक्रमित भई बीरगंज रानिघाट स्थित आफ्नै घरमा होम आईशोलेशनमा रहेका कालिकामाई गाउँपालिकाका अध्यक्ष ७९ वर्षीय नथुनी कुशवाहाको आज बिहान २।३० बजेको समयमा घरमै निधन भएको हो ।
यसैगरी नारायणी अस्पतालमा कोरोना संक्रमण भई उपचाररत बीरगंज महानगरपालिका वडा नम्बर १६ निवासी ४८ वर्षीय महिलाको आज बिहान १।४५ बजे मृत्यु भएको छ ।
वैशाख १२ गते कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वासमा अवरोध भएपछि उपचारार्थ नारायणी अस्पतालमा भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टरले बताए ।
त्यसैगरी नारायणी अस्पतालमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ निवासी ७७ वर्षीय पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसैगरी नारायणी अस्पतालमा गए राति बीरगंज महानगरपालिका वडा नम्बर ३ निवासी ४७ वर्षीया महिलाको पनि कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।
यसैबीच नारायणी अस्पतालमा गरिएको पछिल्लो पिसीआर परीक्षणको क्रममा आज बिहान थप १ सय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
२ सय ८८ जनाको पिसीआर परिक्षण गरिएकोमा १ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा १ सय ३१ जना पुरुष र ४४ जना महिला रहेका छन् ।