पुस २, २०७९ शनिबार

काठमाडौं। रुसले युक्रेनका विभिन्न शहरमा ७६ वटा मिसाइल आक्रमण गरेको छ । शुक्रबारको आक्रमणमा नौवटा ऊर्जा केन्द्रमा क्षति पुगेको बताइएको छ ।

युक्रेनी सेना प्रमुखका अनुसार रुसले प्रहार गरेको ७६ वटा मिसाइलमध्ये अधिकांश क्रुज मिसाइल रहेका छन् । युक्रेनले यीमध्ये ६० वटालाई रोकेको दाबी गरेको छ ।

आक्रमणका कारण ऊर्जामा मुख्य सरकारी एजेन्सीले ५० प्रतिशत बिजुली ग्रिड प्रभावित भएको बताएको छ ।

युक्रेनका रक्षा मन्त्रीका सल्लाहकार युरी साकका अनुसार राजधानी किभका धेरै भागमा आपतकालीन बिजुली कटौती गरिएको छ भने खार्किभ र अन्य धेरै क्षेत्रमा आपूर्ति पूर्ण रूपमा बन्द भएको छ।

यी आक्रमणमा मध्य युक्रेन र दक्षिणमा खेरसोनमा तीन नागरिकको मृत्यु भएको युक्रेनले पुष्टि गरेको छ।