काठमाडौं । प्राइम कमर्सिलय बैंकको स्वतन्त्र सञ्चालकमा प्राडा तारादेवी चित्रकार नियुक्त हुनुभएको छ । बिहीबार बसेको बैंक सञ्चालक समितिको ४५५औँ बैठकले काठमाडौं निवासी प्राडा चित्रकारलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ बमोजिम स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल विद्याभूषण ‘क’ बाट विभूषित, व्यवस्थापन विषयअन्तर्गत उत्पादनमूलक प्रतिष्ठानको सन्दर्भमा नेपालमा निजीकरणको समीक्षा विषयमा विद्यावारिधि गर्नुभएकी चित्रकार त्रिभुवन विश्वविद्यालयअन्तर्गत पब्लिक युथ क्याम्पसमा लामो समयदेखि व्यवस्थापन संकायमा रही बैंक तथा वित्तीय क्षेत्र, स्टक बजार, लेखा विषयमा प्राध्यापन गर्दै आउनुभएको थियो ।
साथै बैंकको सोही दिन बसेको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट एक अर्ब ६६ करोड ९७ लाख ४० हजार आठ सय ९१ रुपैयाँको प्रतिसेयर ८.९५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ । जसमध्ये प्रतिसेयर चार प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर ४.९५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरिएको बैंकका कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिनुभएको छ ।