नेकपा (एमाले)मा आवद्ध श्रमिकहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारमा गएका श्रमिकहरूको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरूको समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् । उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरूको समस्याबारे भने सरकार गम्भीर नभएकोप्रति आक्रोशसमेत व्यक्त गरे ।
अध्यक्ष श्रेष्ठले वैदेशिक रोजगारीमा जानका लागि आफ्नो दक्षता वृद्धि गर्न श्रमिकहरूलाई पनि आग्रह गरे । वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गरे ।
‘मुलुक रेमिट्यान्सको भरमा चलेको छ । तर, वैदेशिक रोजगारीमा गएकाहरूको समस्या भने अझै पनि सरकारले समाधान गर्न सकेको छैन । त्यस काममा सरकार गम्भीर भएर उनीहरूको समस्या तत्काल समाधान गर्नु पर्दछ’, उनले भने ।
जिफन्टले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा ऐनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको पनि हित प्रवद्र्धन हुनेपर्ने बताए ।