बैशाख १८, २०७८ शनिबार

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको खुकुरी नेपाल सुपर लिग फुटबलमा धनगढी एफसी सहज जित निकालेको छ । 

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई ३-० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

धनगढीलाई जित दिलाउन निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले एक एक गोल गरे । खेलको पहिलो हाफमा बल पोसेसनमा पकड जमाएपनि चितवन गोल गर्नबाट पटक पटक चुकेको थियो ।
उक्त जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो  । यस अघि पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३-० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो ।

तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । यता चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ ।