बैशाख १८, २०७८ शनिबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।

शनिबार साँझ सम्पन्न खेलमा घरेलु टोली क्रिस्टल प्यालेसमाथि २-० गोलको सहज जित निकाल्दै सिटी जारी सिजन २०२०/२१ को प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।

पाहुना टोली सिटीको जितमा सर्जियो अगुइरो र फेरान टोरेसले समान १/१ गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा २ मिनेटको अन्तरमा सिटीले गोल गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । 

घरेलु टोलीमाथि सिटीका लागि दोस्रो हाफको खेलको ५७औं मिनेटमा अगुइरोले गोल गर्दै १-० गोलको अग्रता दिलाए । त्यसको २ मिनेटपछि ५९औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई २-० गोलको जित दिलाए ।

उक्त जितसँगै सिटीले ३४ खेलबाट ८० अंक बनाएको छ । उसले अब उपाधि जित्न १ जित्नु पर्नेछ । सिटी दोस्रो स्थानको युनाइटेड भन्दा १३ अंकले अघि रहेको छ । स्मरण रहोस् युनाइटेडले सिटी भन्दा १ खेल कम खेलेको छ । त्यस्तै यता पराजित प्यालेसको भने ३३ खेलबाट ३८ अंकसहित १३औं स्थानमा रहेको छ ।